गजुरीका डीएसपी खड्काको सरुवा

काठमाडौं : धादिङस्थित इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) विश्वराज खड्काको सरुवा गरिएको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालले खड्कालाई प्रहरी प्रधान कार्यालयस्थित सशस्त्र प्रहरी गण नम्बर-१ मा सरुवा गरेको हो । प्रहरी प्रधान कार्यालयले खड्कालाई बदली गरेर गजुरीको इन्चार्जमा डीएसपी युवराज खड्काको काज सरुवा गरेको छ ।

विश्वराज खड्कालाई नदिजन्य अवैध निकासीलाई प्रश्रय दिएको र गुण्डा नाइके राधे भण्डारीसँग मिलेर काम गरेको आरोप लागेको छ ।

सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधीलाई धाक-धम्भी दिएको अभियोगमा गुण्डा नाइके भण्डारीलाई धादिङ प्रहरीले बिहिबार पक्रेको थियो ।

त्यस्तै, प्रहरी उपरिक्षक (एसपी) कृष्णहरी शर्मालाई महानगरीय प्रहरी पहरा गण सामाखुसीमा सरुवा गरिएको छ । पहरा गणमा कार्यरत सुरेन्द्र मैनाली युएन मिसनमा छनोट भएकाले उनको ठाउँमा शर्मालाई काज सरुवा गरिएको प्रहरी महानिरिक्षकको सचिवालयले जनाएको छ ।

 

कमेन्ट गर्नुहोस्