आईपीएल : आरसीबीद्वारा चेन्नईलाई १७० रनको लक्ष्य

काठमाडौं  : यूएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)ले चेन्नई सुपर किंग्स (सीएसके)लाई १ सय ७० रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ रोजेको आरसीबीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ६९ रन बनायो । उसका लागि कप्तान विराट कोहलीले उत्कृष्ट प्रदर्शन गरे ।

कप्तान कोहलीले आज ५२ बलमा ४ चौका र ४ छक्कासहित अविजित ९० रन बनाए । त्यस्तै, देवदत्त पाडिक्कले ३३, वासिङटन सुन्दरले १०, आरोन फिन्चले २, शिवम् दुबेले नटआउट २२ रनको योगदान दिए ।

आरसीबीका विस्फोट ब्याट्सम्यान एबी डिभिलियर्स भने आज शून्य रनमै आउट भए । उनलाई शार्दुल ठाकुरले विकेटकीपर महेन्द्रसिंह धोनीको हातबाट क्याच आउट गराएका थिए ।

बलिङमा सीएसकेका शार्दुल ठाकुरले २, साम कुरान र दीपक चाहरले एक/एक विकेट लिए ।

कमेन्ट गर्नुहोस्