आईपीएल : चेन्नईविरुद्ध आरसीबीको शानदार जित

काठमाडौं  : यूएईमा जारी १३ औँ सिजनको आईपीएल अन्तर्गत रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)विरुद्ध चेन्नई सुपर किंग्स (सीएसके) ३५ रनले पराजित भएको छ ।

आरसीबीले दिएको १ सय ७० रनको लक्ष्य पछ्याएको सीएसकेले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३२ रन मात्र बनाउन सक्यो ।

उसका लागि अम्बाती रायडूले ४२, नारायण जगदीशनले ३३, शेन वाट्सनले १४, कप्तान महेन्द्रसिंह धोनीले १०, डीजे ब्रावो र रवीन्द्र जडेजाले ७/७ रन बनाए । अन्य ब्याट्सम्यानको प्रदर्शन सम्झनलायक रहेन ।

बलिङमा आरसीबीका क्रिस मोरिसले ३, वासिङ्टन सुन्दरले २, इशरु उडाना र युजवेन्द्र चहलले एक/एक विकेट लिएका छन् ।

यसअघि टस जितेर ब्याटिङ रोजेको आरसीबीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ६९ रन बनायो । उसका लागि कप्तान विराट कोहलीले उत्कृष्ट प्रदर्शन गरे ।

कप्तान कोहलीले आज ५२ बलमा ४ चौका र ४ छक्कासहित अविजित ९० रन बनाए । त्यस्तै, देवदत्त पाडिक्कले ३३, वासिङटन सुन्दरले १०, आरोन फिन्चले २, शिवम् दुबेले नटआउट २२ रनको योगदान दिए ।

आरसीबीका विस्फोटक ब्याट्सम्यान एबी डिभिलियर्स भने आज शून्य रनमै आउट भए । उनलाई शार्दुल ठाकुरले विकेटकीपर महेन्द्रसिंह धोनीको हातबाट क्याच आउट गराएका थिए ।

बलिङमा सीएसकेका शार्दुल ठाकुरले २, साम कुरान र दीपक चाहरले एक/एक विकेट लिए ।

जारी सिजनमा आरसीबीको यो चौथो जित हो । उसले ६ म्याच खेल्दा चारमा जित र दुई खेलमा हारको सामना गरेको छ ।

यता गत संस्करण उपविजेता सीएसकेले सात म्याचमा २ खेलमा मात्र जित हासिल गरेको छ । उसले केवल तालिकामा ४ अंक मात्र जोड्न सकेको छ ।

कमेन्ट गर्नुहोस्