भयो सहमति, २७ दिनपछि अनसन तोडदै डा. केसी (सहमति पत्रसहित)

काठमाडौं । चिकित्सा क्षेत्र सुधार तथा सुशासनसँग सम्बन्धित माग राखेर अनसनमा बसेका केसी र सरकारबीच सहमति भएको छ ।

२७ दिन अघि जुम्लाबाट अनसन सुरु गरेका केसीले राखेका मागमा गएराती सहमति भएपछि उनले आज अनसन तोडने भएका हुन । डा केसीले भने आइतबार बिहान साढे ढ बजे मात्र अनसन तोड्ने छन्।

शनिबार राती सरकारी पक्ष र डा केसी पक्षबीच वार्ता भएपछि ८ बुँदे सहमति भएको डा केसी पक्षका वार्ता टोली सदस्य डा लोचन कार्कीले जानकारी दिएका हुन्।

सहमति डा केसीका ६ बुँदे मागका ६ वटा सहमति छन्। ७ नम्बर बुँदामा उक्त सहमतिलाई सम्बन्धित निकायमा लैजाने र ८ नम्बर बुँदामा अनसन तोड्ने विषय उल्लेख छ।

सरकारी पक्ष डा केसी पक्षसँग सहमतिपत्रमा हस्ताक्षर गर्न त्रिवि शिक्षण अस्पताल पुगेको थियो। शनिबार दिनभर गृहकार्यमा रहेको दुवै पक्षको वार्ता टोलीले राती निष्कर्ष निकालेको हो।

बिहीबार सकारात्मक कोणबाट सुरु भएको वार्ता शुक्रबार भने निराशाजनक भएको थियो। शुक्रबारको वार्ता लगत्तै डा केसी पक्षले आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरिसकेको थियो।

बिहीबार १० घण्टा बसेर रोकिएको वार्ता शुक्रबार राती ९ बजे सिंहदरवारस्थित शिक्षा मन्त्रालयमा भएको थियो। तर बिहीबारको कुराकानीभन्दा शुक्रबार सरकारी पक्ष पछि हटेपछि वार्ता निष्कर्षविहीन भएको थियो।

२७ दिनयता अनसनरत डा केसीको स्वास्थ्य अवस्था भने कमजोर बन्दै गएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ। आफ्ना माग पूरा नहुन्जेल डा केसीले अनसन जारी राख्ने अडान दोहोर्‍याउँदै आएका थिए।

कमेन्ट गर्नुहोस्