आईपीएल : केकेआरविरुद्ध टस जितेर ब्याटिङ गर्दै आरसीबी

काठमाडौं  : यूएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)ले टस जितेर ब्याटिङ रोजेको छ ।

यी दुई टिमबीचको खेल ७ः४५ बजेदेखि शारजाहमा सुरु हुँदैछ । दुबै टिमले प्लेइङ-११ मा आज एक/एक खेलाडी परिवर्तन गरेका छन् ।

आरसीबीले आज गुरकित सिंहको स्थानमा मोहम्मद सिराज र केकेआरले सुनील नारायणको स्थानमा टम ब्यान्टनलाई मौका दिएको छ ।

शारजाहको मैदानमा दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीचको खेलमा मात्र चौका/छक्काको वर्षा कम देख्न पाइएको थियो । यो मैदानमा अन्य खेलमा भने चौका/छक्काको वर्षाको आनन्द लिन पाइएको थियो ।

आरसीबी र केकेआरबीचको आज हुने खेल हाइस्कोरिङ हुने अनुमान गरिएको छ । शारजाहमा जारी सिजनमा पाँच खेल भएका छन् । जसमा चार पटक पहिले ब्याटिङ गर्ने टिमले जितेको छ ।

जारी सिजनमा यी दुुबै टिमले राम्रो प्रदर्शन गरिरहेका छन् । केकेआर र आरसीबीले समान ६ म्याचमा चारमा जित र २ खेलमा हारको सामना गरेका छन् ।

नेट रनरेटका आधारमा केकेआर तालिकाको तेस्रो र आरसीबी चौथो स्थानमा छ । यी दुबै टिमको अंक ८ छ ।

जारी सिजनमा पनि दुबै टिमले कप्तान परिवर्तन गरेका छैनन् । यो संस्करणमा पनि आरसीबीमा विराट कोहली र केकेआरमा दिनेश कार्तिक कप्तान छन् ।

हालसम्म आईपीएल इतिहासमा आरसीबी र केकेआरबीच २५ पटक भेट भएको छ । जसमा आरसीबीविरुद्ध केकेआर १५ पटक विजयी भएको छ । पछिल्लो पाँच म्याचमा आरसीबीले केकेआरलाई एक खेलमा मात्र हराउन सकेको छ ।

केकेआरको प्लेइङ-११ : शुभमन गिल, राहुल त्रिपाठी, नितीश राणा, इयोन मोर्गन, दिनेश कार्तिक (कप्तान/विकेटकीपर) आन्द्रे रसेल, टम ब्यान्टन, प्याट कमिन्स, कमलेश नगरकोटी, प्रसिद्ध कृष्ण र वरुण चक्रवर्ती ।

आरसीबीको प्लेइङ-११ : आरोन फिन्च, देवदत्त पाडिक्कल, विराट कोहली (कप्तान), एबी डिभिलियर्स (विकेटकीपर), मोहम्मद सिराज, शिवम दुबे, वाशिङटन सुन्दर, क्रिस मोरिस, ईसुरु उडाना, नवदीप सैनी र युजवेन्द्र चहल ।

कमेन्ट गर्नुहोस्