लोकसेवालाई सर्वोच्चको आदेशः कोरोना संक्रमितलाई पनि परीक्षा दिन पाउने व्यवस्था मिलाउनु

काेराेना संक्रमित बिरामीलाइ परीक्षा हलमा सहभागी गराउन नसिकने लाेकसेवाकाे निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चले अादेश दिएकाे छ ।

बिहीबार न्यायाधीश सपना प्रधान मल्लको इजलासले कोभिड-१९ संक्रमित बिरामीले परीक्षामा सहभागी हुन नपाउने भनी लोकसेवा आयोगले बनाएको मापदण्ड (स्वास्थ्य मापदण्ड ) तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हाे। सर्वोच्चले सबै परीक्षार्थीलाई सहभागी हुने वातावरण बनाउनसमेत भनेको छ।

आयोगले बनाएको मापदण्डले संक्रमित व्यक्तिहरु मात्र परीक्षा दिनबाट बन्चित भई उनीहरुको संविधान प्रदत्त पेसा रोजगार गर्न पाउने हक, समानताको हक, स्वास्थ्य अवस्थाको आधारमा विभेदविरुद्धको हक, छुवाछुत तथा भेदभाव विरुद्धको अधिकारको समेत उल्लंघन हुने भन्दै यस्तो आदेश जारी गरेको हो।

याे पनि पढ्नुस  प्रधानन्यायाधीश राणासहित १७ न्यायाधीश होम क्वारेन्टीनमा, सेवा प्रभावित

मानव अधिकार रक्षक संजालसँग आबद्ध शैलेन्द्रप्रसाद अम्बेडकरले बुधबार आयोगको व्यवस्थाले आफूहरूको संविधान प्रदत्त हकको हनन भएको भन्दै आयोगविरुद्ध रिट दायर गरेका थिए।

‘संक्रमितको स्वास्थ्य अवस्थाको स्वघोषणा गर्ने संक्रमितलाई परीक्षा केन्द्रमा प्रवेश रोक्ने लोक सेवा आयोगको परीक्षा सम्बन्धी मापदण्डले आफू विभेदित, लान्छित र बहिष्करणमा पर्ने डरले संक्रमित व्यक्तिले आफू संक्रमित भएको अवस्थाको घोषणा नगर्ने र यसले सबैलाई जोखिममा पुर्‍याउने अवस्थाको सिर्जना हुन जान्छ,’ सर्वोच्चको आदेशमा भनिएको छ, ‘संक्रमित लक्षणविहीन व्यक्ति पनि संक्रमित हुन सक्ने हुँदा संक्रमणको अवस्था नखुलेका व्यक्ति पनि परीक्षा केन्द्रमा हुन सक्ने र परीक्षामा आएका परीक्षार्थी, कर्मचारी तथा उनीहरुको सम्पर्कमा आउने व्यक्ति पनि संक्रमणको जोखिममा पुगी प्रत्येक व्यक्तिको बाँच्न पाउने संवैधानिक अधिकारमा समेत असर पर्ने देखिंदा यसले महामारीको स्थितिमा थप भयावहता ल्याउने छ।’

याे पनि पढ्नुस  बीपी राजमार्गमा ठूला सवारी सञ्चालन नगर्न/नगराउन सर्वोच्चको आदेश

मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म आयोगले जारी गरेको संक्रमणको विशेष अवस्थामा परीक्षा संचालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७ को बुँदा ८(१) को कार्यान्वयन नगर्न नगराउन सर्वोच्चले भनेको हो।

सबै परीक्षार्थीलाई र परीक्षा लिने वा व्यवस्थापनमा संलग्न हुने व्यक्तिले सुरक्षित तरिकाले परीक्षा लिने र परीक्षा व्यवस्थापन गर्ने वातावरण निर्माण गर्ने गराउन तथा स्वघोषित संक्रमित व्यक्तिहरुलाई उनीहरुको गोपनियता र आत्मसम्मानको संरक्षण गर्दै आवश्यक वैकल्पिक सुरक्षित व्यवस्थासहित परीक्षा संचालन गर्ने सर्वोच्चको आदेश छ।

याे पनि पढ्नुस  ‘एनसेल प्रकरणमा सर्वोच्चको आदेश बेठिक, अर्बौको घोटाला भयो’

कमेन्ट गर्नुहोस्