चितवनमा प्रहरी संख्या थप गर्न मेयर रेनु दाहालको माग, प्रविधिमैत्री प्रहरी संगठन बनाउन पहल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले चितवनमा प्रहरीको संख्या वृद्धि गराउन महानगरले केन्द्रलाई आग्रह गरिहरेको बताएकी छिन् ।

आज शुक्रबार ६५ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय चितवनद्वारा कार्यालय परिसरमा आयोजित कार्यक्रममा बाल्दै महानगर प्रमुख दाहालले यस्तो बताएकी हुन् ।

कार्यक्रमकी प्रमुख अतिथि दाहालले देशकै केन्द्रभागमा रहेको चितवनमा जनघनत्व र विकास निर्माण तीव्र गतिमा बढिरहे पनि प्रहरीको संख्यामा वृद्धि हुन नसकेको बताइन् । उनले यसबारे केन्द्रसम्म ध्यानाकर्षण गराइरहेको बताउँदै उनले प्रहरीको संख्या वृद्धि गराउन महानगरले आग्रह गरिरहेको जानकारी दिइन् । चितवनमा प्रविधिमैत्री प्रहरी संगठन बनाउन पनि आफूहरुले पहल गरिरहेको उनको भनाइ छ ।

अपराध नियन्त्रण र अनुसन्धानबाट समाजमा शान्ति, अमनचयन र सुरक्षाको प्रत्याभुति दिलाउन नेपाल प्रहरीले निर्वाह गरेको भूमिका आफैमा प्रशंसनीय भएको बताउँदै उनले चितवन प्रहरीलेसुरक्षा व्यवस्था राम्रोसँग गरिरहेको बताइन् । चितवन प्रहरीको कार्यबाट भरतपुर महानगरपालिका पूर्ण सन्तुष्ट रहेको उनको प्रतिक्रिया छ ।

याे पनि पढ्नुस  भरतपुरलाई धूमपानरहित बनाउँदै मेयर दाहाल

महानगर प्रमुख दाहालले कोरोना महामारीको विषम परिस्थितिमा समेत प्रहरी संगठनले निर्वाह गरेको चुनौतीपूर्ण जिम्मेवारीले समाजमा नेपाल प्रहरीप्रति आशा र भरोसा थप वृद्धि भएको बताइन् । यस्तो विषम परस्थितिमा सबै सुरक्षा निकायको भूमिका उत्तिकै महत्वपूर्ण रहेको उनले बताइन् ।

देशमा अस्थिरता निम्त्याउने तथा सामाजिक अमनचयनलाई खल्बल्याउन चाहने तत्वहरुको पहिचान गरी त्यसलाई निरुत्साहित गर्न सक्दा नागरिकमा प्रहरीसँगको विश्वासको वातावरण सिर्जना हुने उनले बताइन् ।

याे पनि पढ्नुस  चितवनमा कृषि र मेडिकलसँगै अब इन्जिनियरिङको शुभारम्भ, मेयर रेनुलाई बधाईको ओइरो

प्रहरीका सम्पूर्ण अधिकृत तथा जवानमा सुख, शान्ति तथा समृद्धिका लागि शुभकामना व्यक्त गर्दै प्रमुख दाहालले सम्पूर्ण प्रहरीहरुमा अनुशासित भएर आफ्नो जिम्मेवारी पूरा गर्न सक्ने प्रेरणा मिलोस् भनेर कामना गरिन् । मेयर दाहालले कर्तव्य पूरा गर्ने सिलसिलामा दिवंगत भएका प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरुको योगदानको स्मरण गरिन् ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले प्रहरी नागरिक साझेदारी कार्यक्रममार्फत प्रहरीले जनतालाई साथी बनाइरहेको भन्दै प्रशंसा गरे । कोरोनाको विषम परस्थितिमा जिल्ला प्रशासनले गरेको निषेधाज्ञामा सुरक्षा निकायले खेलेको भूमिका अतुलनीय भएको उनले बताए । अनुशासित, मर्यादित, भिडभाड नगरी, सरकारी नीतिनियममा रहेर चाडवाड मनाउन चितवनवासीलाई प्रशासनले गरेको आग्रह पालना गराउन कटिवद्ध हुन उनले प्रहरीलाई आग्रह गरे ।

याे पनि पढ्नुस  जापानको योगोसिका सिटी र भरतपुरमहानगरबीच महत्वपूर्ण सम्झौतामा हस्ताक्षर

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नान्तीराज गुरुङले जिल्लामा शान्तिसुरक्षा कायम गर्न र अपराध नियन्त्रण गर्न स्थानीय सरकार, प्रशासन, नागरिक समाज र विभिन्न संघसंस्थाले गरेको सहयोगप्रति आभार प्रकट गरे । सबैको सहयोग र साथबाट प्रहरीले काम गर्न सजिलो भएको जनता विश्वास जित्न सफल भएको उनले बताए । अमर प्रहरीहरुको सम्झनामा, पूर्वप्रहरीहरुसँगको सम्बन्ध प्रगाढ बनाउन र वर्षभरिका कार्यप्रगतिबारे जानकारी गराउन प्रहरी दिवस मनाइएको उनले बताए ।

कार्यक्रममा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कार प्रदान र अपराध रोकथाम तथा नियन्त्रण कार्यमा प्रहरीलाई सहयोग पु¥याउने संघसंस्था एवं महानुभावहरुलाई पशंसापत्र तथा कदरपत्र प्रदान गरिएको थियो ।

कमेन्ट गर्नुहोस्