दिपायल विमानस्थलमा साप्ताहिक रुपमा हवाई सेवा सुरु

डोटीः यात्रु अभाव तथा स्तरोन्नतिको कारण देखाइ लामो समयदेखि बन्द रहेको दिपायल विमानस्थलमा शुक्रबारदेखि साप्ताहिक रुपमा हवाई सेवा सुरु भएको छ । समिट एअरले दिपायलदेखि धनगढीका लागि हप्तामा एक पटक उडान सुरु गरेको हो ।
शुक्रबार पहिलो उडानमार्फत समिट एअरले १३ जना यात्रु बोकेर धनगढीका लागि उडेको हो । डोटीबाट निर्वाचित सङ्घीय सांसद प्रेमबहादुर आलेमगरको पहलमा दिपायल विमानस्थलको स्तरोन्नति गरिएसँगै बन्द भएको झण्डै दश वर्ष पछि शुक्रबार पहिलो उडान भएको हो ।
नेपाल सरकारको ८ करोड रुपैयाँको लागतमा विमानस्थल कालोपत्रे तथा अन्य सामग्रीहरु निर्माण गरिएपछि निजी क्षेत्रको हवाई कम्पनी समिट एअरले उडान गर्ने सहमति भएको थियो ।
दिपायल विमानस्थलका कर्मचारी जगन्नाथ साउदले भने, ‘समिट एअरले जहाज चलाउने सहमति भएपछि शुक्रबार पहिलो उडान भएको छ, यात्रु पनि राम्रै पाएको छ ।’
अहिलेलाई दिपायलबाट धनगढीका लागि प्रतिव्यक्ति ३ हजार २ सय रुपैयाँ भाडा निर्धारण गरिएको छ । अहिलेलाई हप्तामा एक दिन उडान हुने भए पनि पछि यात्रुको चापको आधारमा उडान सङ्ख्या थप्न सकिने नागरिक उड्डयन प्राधिकरण दिपायलका प्रमुख विशाल घिमिरेले बताए।
हवाई उडान फेरि सुरु भएसँगै दशैँमा घर आउने तथा जाने यात्रुलाई सहज भएको दिपायल पिपल्लाका स्थानीय तेजबहादुर डुम्रेलले बताए ।
दिपायलमा शुक्रबार गरिएको पहिलो उडानमा समिट एअरले तीन जना यात्रु छोडेर गएको छ । यात्रुहरु समयमै विमानस्थल नआएको भन्दै उनीहरुलाई छोडेर गएको कम्पनीले जनाएको छ । दिपायलदेखि धनगढीसम्मको हवाई यात्रा २० मिनेटको रहेको छ ।

कमेन्ट गर्नुहोस्