दीर्घ कोभिडमा देखिन सक्छन् यी ४ फरक समस्या

सक्छन्

‘दीर्घ कोभिड’ अर्थात् कोरोनाभाइरस सङ्क्रमणको दीर्घ प्रभावका कारण मानिसहरूलाई चार भिन्न समस्या पारिरहेको हुनसक्ने एउटा अध्ययनले देखाएको छ।

अनि यसले किन निरन्तर लक्षण बेहोरिरहेका यी मानिसलाई अविश्वास गरिन्छ र उपचार गरिँदैन भन्ने पनि बुझाउन सक्छ।

दीर्घ कोभिड बेहोरिरहेका मानिसहरूमा गम्भीर मनोवैज्ञानिक प्रभाव परिरहेको हुनसक्ने न्याश्नल इन्स्टिट्यूट अफ हेल्थ रिसर्चको विवरणमा उल्लेख छ।

उनीहरूलाई थप सहयोगको खाँचो छ – अनि उपचार गर्ने स्वास्थ्यकर्मीहरूमा पनि थप जानकारी हुन जरुरी छ।

जीवन बदल्ने अनुभव

अधिकांश मानिसहरूलाई सामान्य कोरोनाभाइरस सङ्क्रमण भएको दुई सातामा ठिक हुने र अलि गम्भीर सङ्क्रमण भएमा तीन सातामा ठिक हुने बताइन्छ।

तर यो रिपोर्टका अनुसार हजारौँ मानिसहरू “निरन्तरको कोभिड” बाट ग्रस्त भएका छन्।

अनि यूकेमा कोरोनाभाइरसका मामिला वृद्धि हुँदै जाँदा दीर्घ कोभिड बेहोर्नेको सङ्ख्या पनि आगामी महिनाहरूमा बढ्ने देखिन्छ।

फेसबुकमा दीर्घ कोभिडले ग्रस्त भएकाहरूको सहायता समूहमा आबद्ध १४ जनाको अन्तर्वार्तामा आधारित भएर प्रकाशित पछिल्लो अध्ययनका अनुसार निरन्तरको लक्षणहरूले श्वासप्रश्वासमा कठिनाइदेखि लिएर मस्तिष्क, मुटु तथा कार्डियोभास्कुलर प्रणाली, मिर्गौला, आन्द्रा, कलेजो र छालासम्म प्रभाव पारिरहेका छन्।

यी लक्षणहरू निम्न चार भिन्न समस्याका कारण भएका हुनसक्छन्:

फोक्सो र मुटुमा भएका स्थायी क्षतिसघन उपचारपश्चात् उत्पन्न हुने समस्याभाइरल सङ्क्रमणपश्चात् हुने थकाइको समस्यानिरन्तर कोभिड-१९ का लक्षणहरूका समस्या

यसरी प्रभावित हुने कतिपयले गम्भीर कोभिड-१९ का कारण लामो समय अस्पतालमा बिताउनुपरेको थियो। तर कतिले भने सामान्य कोभिडमात्र बेहोरेका थिए अनि उनीहरूको परीक्षण वा रोग निदान समेत भएको थिएन।

अध्ययनले भनेको छ “निरन्तर कोभिड-१९ को निदान” सम्बन्धी तरिका निर्माण गरेर मानिसहरूलाई सहायतामा पहुँच पुर्‍याउन सकिन्छ।

के प्रष्ट भइरहेको छ भने कतिपय मानिसका निम्ति कोभिड-१९ को सङ्क्रमण एउटा दीर्घकालीन रोग हो,” रिपोर्टमा उल्लेख छ।

“कतिपयका निम्ति यो अवस्था उनीहरूको अस्पताल बसाइसँग सम्बन्धित छ, तर अन्य कतिपयले भने प्रारम्भिक सङ्क्रमण साधारण भएको र घरमै निको भएको तर पछि विस्तारै लक्षण कडा हुँदै गएको बताइरहेका छन्।”

रिपोर्टका लेखक डा. इलाइन म्याक्सवेल भन्छिन् उनलाई सुरुमा गम्भीर कोभिड भएकाहरूलाई मात्र यस्तो समस्या आइपर्छ होला भन्ने लागेको थियो। साथै कोभिडका कारण ज्यान गुमाउने जोखिम कम भएका समूहमा दीर्घ प्रभावको जोखिम पनि कम होला भन्ने उनले ठानेकी थिइन्।
तर अध्ययनमा त्यस्तो मात्र पाइएन।

“हामीलाई अब थाहा छ कि कतिपय मानिस जसलाई कोभिड सङ्क्रमण भएको पनि पत्तो भएको थिएन उनीहरूलाई यसको दीर्घ प्रभाव हप्तौँसम्म भेन्टिलेटरको सहारामा बाँचेकामा भन्दा पनि ज्यादा देखिएका घटना पनि छन्,” उनले भनिन्।

दीर्घ कोभिडले खासगरी अश्वेत वा एशियाली मूलका मानिस अनि पहिल्यैदेखि मानसिक वा सिकाइसम्बन्धी समस्या बेहोरिरहेका मानिसहरू थप प्रभावित हुनसक्ने उसले जनाएको छ।

“हाम्रो उद्देश्य भनेको यो अध्ययनलाई स्वास्थ्यकर्मीहरूले उपयोग गरेर बिरामीहरूको अनुभव बुझ्न मद्दत पुगोस् भन्ने हो ताकि उनीहरूलाई आवश्यक पर्ने उपचार, सेवा र सहयोगमा पहुँच मिलोस्,” डा. म्याक्सवेलले भनिन्।

कमेन्ट गर्नुहोस्