आजदेखि स्थिर ब्याजदर लागु, बैंकहरुले बीचमा ब्याजदर बढाउन नपाउने

नेपाल राष्ट्र बैंकले आजदेखि स्थिर ब्याजदर लागु गरेको छ । अब एक वर्षभन्दा बढी समयका लागि लिइएको कर्जाहरुको ब्याजदर परिवर्तन गर्न बैंकहरुले पाउने छैनन् ।

विश्वमा  धेरै पहिलादेखि चल्दै आएको स्थिर ब्याजदर नेपालमा भने पहिलो पटक राष्ट्र बैंकले लागु गरेको छ । केही बैंकले लामो समयका लागि प्रवाह गर्ने घर,गाडीलगायतमा स्थिर ब्याजदर लागु गर्दै आएको दावी गरेपनि बैंकहरुले लगानीयोग्य रकम (तरलता)को अभाव देखाउँदै बीच बीच्चैमा ब्याजदर बढाउने गरेका थिए । तर, स्थिर ब्याजदर लागुभएपछि बैंकहरुले त्यसरी बीचमा ब्याजदर बढाउन भने पाउने छैनन् ।

केन्द्रीय बैंकले एक वर्षमाथिका व्यक्तिगत आवधिक ब्याजदर स्थिर (फिक्स) गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएसँगै बैंकहरुले स्थिर ब्याजदर सार्वजनिक गरेका छन् । अवदेखि एक वर्ष माथिका घर कर्जा, गाडी कर्जा, हायर पर्चेजकर्जालगायतमा स्थिर ब्याजदर लागु हुने छ ।

केन्द्रीय बैंकको नीति अनुसार नै बैंकहरुले व्यक्तिगत आवधिक कर्जामा स्थिर ब्याजदर तोकेका छन् । बैंकहरुले घर कर्जामा ८.४९ देखि १५ प्रतिशत, सवारी कर्जामा ८.४९ देखि १४.५१ प्रतिशत, शैक्षिक कर्जामा ८.४९ देखि १४.४९ प्रतिशतसम्म ब्याजदर तोकेका छन् ।

स्थिर ब्याजदर लागु गर्नुको कारण सम्बन्धमा राष्ट्र बैंकको भनाइ

बैंकहरुले ६ महिना नपुग्दै ब्याज बढाउन थालेपछि राष्ट्र बैंकले त्यस्तो कार्य नियन्त्रण गर्न स्थिर ब्याजदर ल्याएको हो । ७ प्रतिशत ब्याजदर लिएको ऋण छोटो अबधिमा नै दोब्बरसम्म बढाएपछि स्थिर ब्याजदर लागु गर्न वाध्य भएको राष्ट्र बैंकको भनाइ छ ।

राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले ब्याजदरको परिवर्तनले धेरै ऋणीहरुलाई असर पारेको गुनासो आएपछि ऋणको ब्याजदर स्थिर गर्ने नीति लिइएको बताए ।

केन्द्रीय बैंकले केही समयअघि एकिकृत निर्देशिका २०७७ जारी गर्दै कर्जाको ब्याजदर स्थिर गर्न बैंकहरुलाई निर्देशन दिएको थियो । बैंकहरुले पूराना ग्राहकलाई समेत स्थिर ब्याजदर गरिदिनु पर्ने राष्ट्र बैंकको भनाइ छ ।

कमेन्ट गर्नुहोस्