कर्णाली विवादबारे प्रचण्ड र ओलीबीच छलफल हुँदै

काठमाडौं । नेकपा कर्णाली प्रदेश संसदीय दलभित्र देखा परेको विवादबारे पार्टीका अध्यक्षद्वयबीच छलफल हुन गइरहेको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध नेकपाकै सांसदहरुले अविश्वास प्रस्ताव ल्याएपछि विवाद साम्य हुन सकेको छैन ।

यसअघि दुबै अध्यक्षले विवादित दुबै पक्षलाई राजधानी बोलाएर छलफल गरेका थिए ।

यद्यपी विवादित पक्षसँग दुबै अध्यक्षले सामूहिक छलफल भने गरेका छैनन् ।

बिहिबार र शुक्रबारका दिन अध्यक्ष प्रचण्डले मुख्यमन्त्री शाही र अविश्वास प्रस्तावका नेतृत्वकर्ता सांसद यामलाल कँडेलसँग बेग्लाबेग्लै छलफल गरेका थिए ।

विवादित दुबै पक्षले शनिबार भने प्रधानमन्त्री ओलीसँग तीनघण्टा छलफल गरेका थिए । बिहीबारका लागि बोलाइए पनि ओलीले तेस्रो दिन मात्र भेटको समय दिएका थिए । करिब १२ बजे सुरु भएर झन्डै ३ घण्टा चलेको छलफल भएकाे सहभागी प्रदेश कमिटी सचिव मायाप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार दुवै पक्षले कर्णालीमा उत्पन्न समस्याको जडबारे आ–आफ्नोतर्फबाट ब्रिफिङ गरेका थिए । ‘अध्यक्षले अविश्वासको प्रस्ताव प्रक्रिया सुरु हुनुको कारण खोतल्ने प्रयास गर्नुभयो, दुवै पक्षले आ–आफ्नो तर्क राखे,’ उनले भने, ‘त्यसपछि उहाँले दुवै अध्यक्ष बसेर एउटा निष्कर्ष निकाल्ने र त्यसलाई मान्नुपर्ने बताउनुभयो ।’

याे पनि पढ्नुस  अल्पसंख्यक र लोपोन्मुख समुदायका लागि सरकारले विशेष कार्यक्रम ल्याउछ : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशमा मुख्यमन्त्रीविरुद्ध ल्याइएको प्रस्ताव पार्टी विधान र एकताको स्पिरिट विपरित भएको भन्दै अध्यक्ष प्रचण्डले असन्तुष्टि जनाउँदै आएका छन् । अविश्वास प्रस्ताव आएलगत्तै प्रधानमन्त्रीसँग समेत प्रचण्डले छलफल गरेका थिए । प्रचण्डकै दौडधुपपछि माधव नेपाल समूहका सांसदहरुले अविश्वास प्रस्तावबाट नाम फिर्ता लिएपछि सरकारमाथिको संकट टरेको थियो ।

प्रधानमन्त्री तथा अध्यक्ष ओली समूहका सांसदहरुले भने अविश्वास प्रस्ताव फिर्ता लिएका छैनन् ।

याे पनि पढ्नुस  हामी सबैको चाहना भनेको तीव्र विकास हो, सुशासन होः मुख्यमन्त्री शाही

विवादकै बीच मुख्यमन्त्री शाहीले दल नेताको हैसियतले सचेतक परिवर्तन गरेका थिए । प्रधानमन्त्री ओलीले भने यसको बिरोध गरेका छन् ।

कर्णालीमा देखिएको विवाद पार्टी एकतामा गम्भीर संकट निम्त्याउन सक्ने प्रचण्ड र माधव नेपाल समूहको बुझाई रहेको छ । सबै प्रदेशमा समस्या देखिएको र स्थायी कमिटिको बैठकले त्यसको गम्भीर समीक्षा गर्ने प्रस्ताव नै पारित गरेको अवस्थामा मुख्यमन्त्रीविरुद्धको प्रस्तावलाई सामान्य त्रुटी मान्न नसकिने उक्त समूहको धारणा देखिन्छ ।

आज हुने छलफलमा कर्णाली प्रदेशलगायत अन्य प्रदेशको समेत कार्यक्षमताको विषयमा छलफल हुने बताइन्छ ।

अध्यक्ष प्रचण्ड स्थायी समितिको म्याण्डेटका आधारमा अर्का अध्यक्ष ओली चल्नुपर्ने अडानमा छन् ।

शनिवारको छलफलमा भने अध्यक्ष प्रचण्ड र पूर्व माओवादी समूहबाट कोही पनि सहभागी भएका थिएनन् । अध्यक्ष ओलीले दुबै पक्षको कुरा सुनेपछि दुबै अध्यक्ष बसेर निश्कर्षमा पुग्ने प्रचण्डले बताएका थिए । सोही अनुसार आज दुबै अध्यक्षबीच छलफल हुने भएको हो ।

याे पनि पढ्नुस  को हुन् मंगलबार बिहान थपिएका १२ कोरोना संक्रमित ?

दुबै अध्यक्षबीच सहमति जुटेको खण्डमा त्यसलाई सचिवालयमा थप छलफल गर्ने या नगर्ने भन्ने विषयमा कुनै टुंगो लागेको छैन । माधव नेपाल समूहले भने सचिवालय बैठक बोलाएर कर्णाली विवादबारे निश्कर्षमा पुग्नुपर्ने बताउँदै आएको छ ।
दुवै अध्यक्षले आफूहरू बसेर निष्कर्ष सुनाउने भनेपछि संसदीय दलमा पेस भएको अविश्वासको प्रस्ताव अब करिब ‘निष्क्रिय’ हुने भएको छ । हुन त यसअघि नै दाहाल–नेपाल समूहका सांसदले मौखिक रूपमा समर्थन फिर्ता लिएपछि उक्त प्रस्ताव संकटमा परिसकेको थियो ।

कमेन्ट गर्नुहोस्