मंगलबार राती माधव नेपाल र केपी ओलीबीच छलफलः संवाद गरौं– ओली, सबै समस्याको जड तपाई, सच्चिए मात्रै सहकार्य– नेपाल

काठमाडौं, प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाललाई बालुवाटार बोलाएर छलफल गरेका छन् ।

कर्णाली प्रदेशमा उत्पन्न विवादमा मंगलबार बिहान प्रचण्डसँग छलफल गरेका ओलीले राती माधव नेपाललाई बोलाएर छलफल गरेका थिए ।

छलफलका क्रममा प्रधानमन्त्री ओलीले पूर्व एमाले समूह एक ठाउँमा उभिनुपर्ने बताउँदै असन्तुष्टि भए नयाँ शिराबाट छलफ गर्नुपर्ने प्रस्ताव राखेका थिए । नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचार
अनुसार, जवाफमा माधव नेपालले भने केपी ओली स्वेच्छाचारी ढंगले अघि बढेकोले यथास्थितिमा सहयोग गर्न नसकिने जवाफ फर्काएका थिए ।

“कमजोरी छन् भने सच्याउने गरी अघि बढौँ भन्ने उद्देश्यले छलफल गर्न खोजेको हुँ ।” भेटका अवसरमा प्रधानमन्त्रीले भनेको कुरा उदृत गर्दै समाचारमा उल्लेख छ, “छलफलबाट पार्टीमा समस्या छन् भने पनि हल गरौँ, संवादलाई निरन्तरता दिँदै अघि बढौँ ।”

याे पनि पढ्नुस  १५ बुँदामा पढ्नुस् प्रचण्डको राजनीतिक प्रस्ताव

मंगलबार बिहान अध्यक्ष प्रचण्डसँग भएको भेटमा प्रमले कर्णाली प्रदेशमा उत्पन्न समस्याको समाधानका लागि राखेको प्रस्तावमा सहमति जुटेको थिएन । मंगलबार साँझ नै प्रधानमन्त्रीका प्रेस सल्लाहकार
सूर्य थापाले कर्णालीमा उत्पन्न विवादमा सहमति जुटेको भन्दै प्रेस नोट जारी गरेपछि प्रचण्डको सचिवालयले त्यसको खण्डन गरेको थियो ।

पार्टीमा प्रचण्डसँग सहमति नजुटेपछि प्रम केपी ओलीले माधव नेपाललाई बालुवाटार बोलाएका थिए ।

कर्णाली विवादमा माधव नेपाल र प्रचण्ड समूह एक ठाउँ उभिएका छन् ।

एकता पूर्वका दुई पार्टीको मनोविज्ञानलाई एक ठाउँमा ल्याउने कसरतस्वरुप ओलीले नेपाललाई बोलाएको टिप्पणी समेत भएको छ ।

प्रधानमन्त्री ओलीले आकस्मिकरुपमा बोलाएर सहमति र सहकार्यको कुरा गरेपछि नेता नेपालले भने कार्यशैली नसच्चिएसम्म सहयोग कसरी गर्ने ? भन्ने प्रश्न राखेको समाचारमा उल्लेख छ ।

याे पनि पढ्नुस  झापामा प्रचण्ड–नेपाल पक्षको विद्यार्थी भेला, पार्टी एकताविरुद्व नलाग्न ओलीलाई चेतावनी

“तपाईं जथाभावी राजनीतिक र अन्य नियुक्तिहरू गर्नुहुन्छ । पार्टीभित्र मापदण्ड लागू गर्नुहुन्न, वरिष्ठता, योग्यता र क्षमताको अवमूल्यन गर्दै अन्याय गर्नुहुन्छ, अनि सहयोग र समर्थन गर्ने कुरा हुन्छ ?” नेपालको भनाई उदृत गर्दै पत्रिकाले लेखेको छ, “सबै समस्याको जड तपाईं नै हो, धेरै समस्या तपाईंबाटै खडा भएका छन् । पहिले आफ्नो कार्यशैली सच्याउनुस्, अनि मेरो सहयोग रहन्छ ।”

दुई घण्टा भन्दा बढी लामो छलफलमा प्रधानमन्त्री ओलीको जोड पूर्व एमाले एक ठाउँ हुनुपर्नेमा थियो । तर नेता नेपालले भने केपी ओलीले संकट पर्ने बेला पूर्व समूहको कुरा गर्ने अनि संकट टरिसकेपछि मनपरि अघि बढ्ने गरेकोले समस्या पैदा भएको जवाफ दिएका थिए । पार्टी एकता गर्ने हो भने विधि र पद्दती अनुसार, पार्टीलाई एकताबद्ध बनाउनुपर्ने उनको जवाफ थियो ।

याे पनि पढ्नुस  यी ३ कुराले झुक्न बाध्य भए ओली

माधव नेपालले हालैमात्र नियुक्त गरिएका मन्त्री, अन्य कतिपय नियुक्ति र सरकारका काम कारवाहीबारे प्रश्न उठाएका थिए ।

दिउँसो नै नेता नेपालले विज्ञप्ती जारी गर्दै सरकार कोरोना संक्रमितहरुको निशुल्क उपचारबाट भाग्न नमिल्ने बताएका थिए ।

बालुवाटारमा नेपाल र ओलीबीचको भेटघाटलाई निकै अर्थपूर्णरुपमा हेरिएको छ । स्थायी समितिले सहमतिको प्रस्ताव पारित गरेपनि त्यसलाई कार्यान्वयन गर्न ओली समूहले आलटाल गर्दै आएको सन्दर्भ र कर्णाली प्रदेशको विवादले नेकपाभित्र जटिल संकट उत्पन्न गरेको छ ।

कमेन्ट गर्नुहोस्