काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःनिर्माण गरिएको ऐतिहासिक रानीपोखरी तथा दरबार हाइस्कूलको बुधबार उदघाटन गरेकी छन् । २०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त बनाएको रानीपोखरी तथा दरवार हाईस्कूलको पुनःनिर्माण गरिएको हो ।
राष्ट्रपति भण्डारीले २०७२ माघ २ गते रानीपोखरी पुनःनिर्माणको शिलन्यास गरेकी थिइन् । करिब २८ करोड रुपैयाँको लागतमा निर्माण भएको ऐतिहासिक रानीपोखरी तथा बालगोपालेश्वर मन्दिरको पुरानै कला शैलीमा निर्माण गरिएको हो ।
उदघाटन कार्यक्रममा राष्ट्रपति भण्डारीले भने, ‘आजैका दिन रानीपोखरीसँगै अवस्थित ऐतिहासिक दरबार हाइस्कूलको पुनर्निर्मित भवनको उद्घाटन गर्ने कार्यक्रम हुनु सराहनीय छ । यस विद्यालयले योग्य नागरिक तयार गरी मुलुकको विकास र प्रगतिमा महत्वपूर्ण योगदान पुर्याएको छ ।’
विनाशकारी भूकम्पबाट क्षतिग्रस्त यस भवनलाई पुरानै शैलीमा भूकम्प प्रतिरोधि प्रविधिमा आधारित भई पुनर्निर्माण गर्न सहयोग पुर्याउने मित्र राष्ट्र चीन सरकार र चिनियाँ जनताप्रति राष्ट्रपति भण्डारीले आभार व्यक्त गरिन् । ‘मलाई आशा छ, सम्पूर्ण भौतिक एवं शैक्षिक पूर्वाधारले सुसज्जित यस विद्यालयले नेपालको सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तरको मानक कायम राख्न सफल हुनेछ,’ उनले भनिन् ।
राष्ट्रपति भण्डारीले भनिन्, ‘पुनःनिर्माण गरिएको यस ऐतिहासिक रानीपोखरी र दरबार हाइस्कूलको उद्घाटन गर्ने यो कार्यक्रम राखेकोमा नेपाल सरकार, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण लगायत सम्बद्ध सबैमा धन्यवाद ज्ञापन गर्दछु ।’
भूकम्प पश्चातको पुनर्निर्माणमा नेपाल सरकारले लिएको नीति, योजना र कार्यान्वयन ढाँचा भावी पुस्ता र बाह्य जगतको निम्ति प्रेरक बन्न सक्ने विश्वास पनि उनले व्यक्त गरिन् । ऐतिहासिक संरचनाहरूको पुनःनिर्माणमा खटिनु भएका र सहयोग पु¥याउनु हुने सबैमा उिहाँले धन्यवाद व्यक्त गरिन् ।
प्राधिकरणले रानीपोखरी क्षेत्रलाई हालको रत्नपार्क, खुलामञ्च, टुँडीखेल, भृकुटीमण्डप र दशरथ रंगशाला समेतलाई जोडी वृहत्तर गुरुयोजना तयार पारेको छ ।