‘प्रधानमन्त्रीज्यू, प्रेमकुमारीलाई बचाउन सकिएन’ भन्दै रञ्जित तामाङले लेखे केपी ओललाई खुला पत्र

सम्माननीय प्रधानमन्त्री ज्यू,

तपाईंको नेतृत्वको सरकारले ‘कोरोना संक्रमितले आफैं उपचार खर्च ब्यहोर्नू’ भनेर जनताका नाममा आदेश गरेकै दिन झापा जिल्लाको दमक निवासी कोरोना संक्रमित ६७ बर्षीया प्रेमकुमारी खड्काको निधन भयो ।

त्यसो त उक्त दिनमात्र देशभरका कोरोना संक्रमितहरु मध्ये १८ जनाले ज्यान गुमाए । तर, प्रधानमन्त्रीज्यूको निर्वाचन क्षेत्रकी प्रेमकुमारी खड्काको ब्यथा वयान गरेर तपाईंलाई सुनाउन उपयुक्त लागेर सुनाउँदैछु । तपाईंलाई भेट्न पाएको भए भेटेर सुनाउँथें, तर म भित्रिया परिनँ । केही पहिले भेट्न कोसिस गरेको थिएँ । तर, तपाईका आसेपासेले महत्व दिएनन् । त्यसकारण लेखमार्फत यो पत्र लेख्दै छु ।

प्रेमकुमारी खड्का केही दिनअघि कोरोना संक्रमित भएर अस्पतालमा उपचार गरी निको भएर घर फर्किनुभएको थियो । तर, घर फर्किएपछि उहाँलाई थप गार्‍हो भएकाले पुन : अस्पताल गएर उपचार गरिरहनुभएको थियो । एक्कासी उहाँको अक्सिजनको मात्रा घट्यो र डाक्टरले आइसीयुमा राखेर उपचार गर्नु जरुरी रहेको बताए । तर, तपाईं निर्वाचित हुनुभएको क्षेत्रको दमकका कुनै अस्पतालमा आईसीयू पाइएन । थोरै संख्यामा रहेका आईसीयू पनि खाली थिएनन् ।

उहाँको स्वास्थ्य अवस्था झन जटिल बन्दै थियो । डाक्टरले भेन्टिलेटर जरुरी भएको बताए । कुनै उपाए नलागेपछि मलाई सम्पर्क गरेर उहाँका छोराले दशैंका मुखमा आमाको जीवन बचाइदिन याचना गरे । मैले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्षलाई सम्पर्क गरें । त्यहाँ आईसीयु र भेन्टिलेटर केही पनि खाली थिएन । उहाँले संक्रमित भएका त्यहीँ कार्यरत डाक्टर र नर्सहरुका लागि समेत पर्याप्त ब्यवस्थापन हुन नसकेको बताउनुभयो ।

रञ्जित तामाङ
त्यसपछि मैले बिराटनगरमा रहेको नोवल मेडिकल कलेजका अध्यक्ष सुनील शर्मालाई सम्पर्क गरें । उहाँ आफैं संक्रमित भई भर्खरै कोरोना जितेर काममा फर्किनुभएको थियो । मैले उहाँलाई सबै विवरण सुनाएर आईसीयू/भेन्टिलेटर जुटाएर एउटी आमाको जीवन बचाइदिन अनुरोध गरें । उहाँले पनि आईसियु र भेन्टिलेटर खाली नभएकाले सहयोग गर्न नसक्ने भन्दै अन्यत्र बुझ्न सुझाउनुभयो ।

याे पनि पढ्नुस  सरकारले जनताको आवश्यकता अनुरुप काम गर्नुपर्छः अध्यक्ष तामाङ

त्यसपछि मैले बिराटनगरमै रहेको बिराट मेडिकल अस्पतालका फाउण्डर अध्यक्ष डा.ज्ञानेन्द्र कार्कीलाई सम्पर्क गरें । कोरोना महामारीबाट उहाँ आफैं पनि गम्भीर परिस्थितिको सामना गरेर निको हुनुभएकाले यस्तो समयमा बिरामीको अवस्था र परिवारको अपेक्षा कस्तो रहन्छ, उहाँलाई हेक्का थियो ।

मैले उहाँलाई पनि आईसीयू र भेन्टिलेटर मिलाइदिन अनुरोध गरें । मेरो अनुरोधलाई गम्भीरतापूर्वक लिँदै उहाँले अस्पताल प्रशासनमा बुझ्नुभयो । तर, त्यहाँ पनि खाली रहेनछ ।

यद्यपि उहाँले मलाई निराश नबनाउन बिरामीको विवरण म्यासेज गर्न भन्नुभयो । खाली भएलगत्तै तपाईको बिरामीलाई प्राथमिकता दिन्छु भनेर सहानुभुति देखाउनुभयो ।

मलाई साथी प्रेम खड्काले बारम्बार फोन गरेर आज आईसियू र भेन्टिलेटर मिले आमालाई बचाउन सकिन्थ्यो कि भनेर भनिरहनुभएको थियो । डा.ज्ञानेन्द्र कार्कीले एक दिनपछि भए सघन बेड मिलाउँछु भन्नुभएको थियो । आमाले सघन उपचार कक्षमा बाँच्ने आशामा रोगसँग लडिरहनुभयो ।

यो सन्दर्भ यही गत कात्तिक २ गते आइतबारको हो । त्यस दिन आईसीयु र भेन्टिलेटर खोज्दा बुझ्दा नै रात बित्यो । सायद धनाढ्य भएको भए प्रेमजीले हेलिकप्टरबाट काठमाडौंको सुविधायुक्त अस्पतालमा आमाको उपचार गरेर बचाउनुहुन्थ्यो होला । तर, सबै जनतासँग त्यो सामर्थ्य कहाँ हुन्छ र ?

भोलिपल्ट सोमबार बिहानै प्रेमजीले मलाई फेरि बिराट मेडिकल अस्पतालसँग कुरा गरिदिन भन्नुभएको थियो । डा.कार्कीले मलाई सायद ११ बजेतिर ‘बिरामीलाई पठाइदिनू, आईसियु खाली गरेको छु’ भनेर फोन गर्नुभयो । मैले प्रेमजीलाई तत्काल खबर गरें । आमालाई बचाउन सकिने भयो भनेर उहाँले खुसी हुुँदै फोन राख्नुभयो ।

तर, अपशोच १.३० तिर प्रेमजीको फोन आयो, ‘दाइ धेरै ढिला भएछ, आमालाई बचाउन सकेनौं, बिराटनगर लैजाँदै गर्दा पथरी (मोरङ) मा आमा बित्नुभयो ।’

प्रेमजीको कुरा सुनेर म अवाक् र किंमकर्तव्यविमूढ भएँ ।

याे पनि पढ्नुस  प्रम ओलीको कडा टिप्पणीः संघीयता असफल पार्न गौंडा कुरेर बसेका छन्

प्रधानमन्त्री ज्यू !

सरकार सांसदलाई दशैं भत्ता दिनतिर, ओम्नी, यतिलाई देश ठेक्का दिनतिर, मन्त्रिमण्डल हेरफेरमा चलखेल गर्नतिर र राजदूत नियुक्तिमा समय वर्वाद गर्नतिर नलागेर तपाईंको उपचारमा जत्तिकै जनताको उपचारमा पनि सजकता अपनाउनतिर लागेको भए परिस्थिति यस्तो भयावह नहुन पनि सक्थ्यो ।

आखिर जीवन त सबैको उही नै हो नि ! एउटा मात्र आईसीयु र भेन्टिलेटर थप्न ध्यान दिएको भए आज प्रेमकुमारी आमाले ज्यान त गुमाउनुपर्ने थिएन । यसरी नै अरु आईसीयु र भेन्टिलेटर थपेको भए उहाँजस्तै अरु आमा-बुवाहरुले जीवन गुमाउनुपर्ने थिएन । आज उहाँका छोराछोरी टुहुरा हुने थिएनन् । अरु कैयौं छोराछोरी दशैंको मुखमा टुहुरा हुने थिएनन् । नजिकिएको दशैंमा नयाँ नाना लाएर चिची खाने नानीहरुको रहर अपूरो हुने थिएन ।

प्रधानमन्त्रीज्यू ! त्यो ठाउँमा आफूलाई राखेर एकपटक हेर्नुस त ! तपाईं राजनीतिमा नलागेर उहाँको ठाउँमा र प्रेमकुमारी तपाईंका ठाउँमा भएको भए अनि तपाईंलाई यो समस्या परेको भए के सोच्नुहुन्थ्यो होला ? एकपटक सोच्नुस त !

जनताले निर्वाचित गरेका जनप्रतिनिधिहरु पाँचतारे होटलको आइसोलेसनमा बसिरहेका बेला हाम्रो सरकार जनतालाई भने सःशुल्क उपचारको असंवैधानिक उर्दी लगाउन तल्लीन छ । जनताको जीवन रक्षा गर्ने आˆनो पहिलो र आधारभूत दायित्वबाट राज्य च्युत भएको यहाँ भन्दा भद्दा उदाहरण अरु के हुन सक्छ र ?

यस प्रकारको गैरजिम्मेवार शैली बदलेर यदि जनताको संकटको सारथी बन्न सक्दैन भने जनताले सरकार नामको सेतो हात्ती किन पाल्ने भन्ने यक्ष प्रश्न खडा भएको छ ।

कोरोना महामारीका कारण उत्पन्न बिषम परिस्थितिले गर्दा विश्व नै भयावह भएको बेला विकसित देशहरुका सरकारले अनेकन् प्रयास गरेर जनता बचाएका समाचारहरु हामीले सुनिरहेका छौं । जनता बचाउन आˆनो सबै शक्ति र सामर्थ्य प्रयोग गर्दागर्दै पनि जनताको जीवन बचाउन नसकिएका ठाउँमा राष्ट्रप्रमुखले भावबिहृवल भई जनतासँग माफी मागेका घटना र तस्वीरहरु पनि सार्वजनिक भएकै छन् ।

याे पनि पढ्नुस  राजतन्त्रको माग गर्नु आपराधिक काम होः प्रधानमन्त्री ओली

तर, नेपालको सरकार भने दैनिक संक्रमितको संख्या गन्न र राष्ट्रिय मिडियाबाट कर्कस ध्वनीमा संक्रमित ब्यक्ति र मृतकको संख्या भट्याउनमा नै तल्लीन छ ।

सरकार केवल आदेश र फर्मान् जारी गर्छ । हरेक दिन सरकार अनेक अर्ति र उपदेश मात्र हैन, जनतालाई धम्क्याउने र तर्साउने भाषासमेत बोल्छ । सरकारी अधिकारीहरुको प्रस्तुतिमा देश र जनताप्रति एकरत्ति चिन्ताभाव भेटिँदैन ।

आज देशभरि कहँ कतै अस्पतालका बेड खाली छैनन् । कतै पनि आईसीयु र भेन्टिलेटर खाली छैनन् । यो पत्र लेख्दासम्म उपत्यकामा कहीँ कतै अस्पतालमा बेड छैन भन्ने जानकारी पाएको छु । यस्तो बेला राज्यले जनतालाई साथ सहयोग गर्नुको सट्टा निराश बनाउनु हुँदैनथ्यो ।

सम्माननीय प्रधानमन्त्रीज्यू !

आजभन्दा अढाई बर्ष अगाडि झापाको निर्वाचन क्षेत्र नं. ५ मा तपाईकै सामुन्नेमा तपाईंलाई समग्र निर्वाचनकै ‘म्यान अफ द इलेक्सन’ बनाउन अपिल गर्दै मैले पनि जनतासँग भोट मागेको थिएँ । त्यतिबेला मैले जनता समक्ष नेकपाको सरकारलाई दुईतिहाई मत दिनुहोस् ,आफ्नै आँखा अगाडि, आˆनै पालामा समृद्ध नेपाल, सुखी नेपाली बन्नेछ भनेर भनेको थिएँ ।

यदि केपी ओलीको नेतृत्वमा सरकार बन्यो भने त्यसले संविधानको कार्यान्वयन गर्नेछ, मुलुकमा विकास, समृद्धि र सुशासन युग आउनेछ अनि देशले जिम्मेवार र जनउत्तरदायी लोककल्याणकारी राज्य पाउनेछ भनेर भनेको थिएँ ।

प्रधानमन्त्री ज्यू ! अरु त यस्तै-त्यस्तै भयो, कहालीलाग्दो महामारीको यो अत्यन्तै अत्यासलाग्दो घडीमा समेत जनताले सरकारलाई आफ्नो साथमा पाउन सकेनन् । यस्तो बेलामा यो सरकारको के सन्देश बोकेर यसपालि दशैंमा म घर (झापा) जाऔं ? बुढा बा-आमा र त्यहाँका जनतालाई के भनेर भेटौं ?

– उही तपाईंको कार्यकर्ता/मतदाता रञ्जित तामाङ, काठमाडौं

(प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रका बासिन्दा रञ्जित तामाङ नेकपाको भातृ संगठन अनेरास्ववियूका सहसंयोजक हुन्)
अनलाईन खबरबाट साभार

कमेन्ट गर्नुहोस्