भारतमा एउटा टिभी च्यानलका सम्पादक, एंकर र पत्रकारसहित १ हजार बढीविरुद्ध मुद्दा दर्ता

मुम्बई । मुम्बई प्रहरीले एउटा टेलिभिजन च्यानलमा कार्यरत एक हजार बढीमाथि मुद्दा दर्ता गरेको छ ।

रिपब्लिकन टिभी च्यानलमाथि प्रहरीले ठूलो कार्वाही शुरु गरेको हो ।

टेलिभिजन च्यानलले मुम्बई प्रहरीका बारेमा भ्रमपूर्ण समाचार प्रकाशन गरेको प्रहरीको आरोप छ ।

सुशान्त सिंह राजपूतको आत्महत्यापछि उक्त टिभी च्यानलले मुम्बई प्रहरीविरुद्ध लगातार समाचार सम्प्रेषण गर्दै आएको थियो ।

प्रहरीलाई बदनाम गर्ने कोशिस गरिएको भन्दै यसअघि नै च्यानलका चार जना पत्रकारविरुद्ध मुद्दा दर्ता भएको थियो । मिडिया रिपोर्टमाथि प्रश्न उठेपछि मुम्बई हाइ कोर्टले समेत रिपोर्टिङ शैलीमाथि गम्भीर प्रश्न उठाएको थियो । रिया चक्रवर्तीलाई गिरफ्तार गर्नुपर्ने भन्दै च्यानलले ह्यास ट्याग नै ‘ह्यास ट्याग अरेष्ट’ बनाएको थियो ।

टिआरपी बढाउन अनावश्यक किसिमले घटनालाई अतिरञ्जन गरेको भन्दै अदालतले सोधेको थियो– जुन घटनामा जाँच भइरहेको छ, त्यसमा दर्शकहरुलाई कसलाई गिरफ्तार गरिनुपर्छ होला ? भनेर सोध्नु
कहाँसम्मको खोजी पत्रकारिता हो ?

त्यसपछि प्रहरीले टिआरपी बढाउन च्यानलले पैसा लिएर समाचार तयार गर्ने गरेको आरोप लगाएको थियो ।

यसै विवादबीच अहिले भने प्रहरीले च्यानलका एक हजार बढी जनामाथि मुद्दा दर्ता गरेको हो ।

प्रहरीले प्रहरी आयुक्त परमवीर सिंहका बारेमा प्रसारित समाचारले प्रहरीमा असन्तोष बढाउन सक्ने भन्दै मुद्दा दर्ता गरेको जनाएको छ ।

च्यानलले मुम्बईका केही प्रहरीले प्रहरी कमिश्नर परमवीर सिंहको निर्देशन अस्वीकार गर्दै विद्रोहको तयारी गर्न थालेको भन्दै समाचार प्रकाशन गरेको थियो ।

जनसत्ता दैनिकका अनुसार, यो च्यानलविरुद्दको चौथो मुद्दा हो । यसअघि च्यानलका प्रधान सम्पादक अर्नब गोश्वामीविरुद्ध साम्प्रदायिक तनाव उक्साएको भन्दै मुद्दा दर्ता भएको थियो । टीआरपीमा जालसाजीको समेत मुद्दा दर्ता भएको छ ।

टेलिभिजन च्यानलले भने यसलाई अघोषित संकटकाल बताएको छ । च्यानलले महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखसँग प्रश्न गरेको छ– के तपाई पत्रकारहरुलाई जेल हाल्नुहुन्छ ? यो अघोषित संकटकाल नभएर के हो ?

कमेन्ट गर्नुहोस्