काठमाडौं : चन्द्रमाको सतहमा पानी भेटिएको छ । अमेरिकाको अन्तरिक्ष संस्था नासाका अनुसार चन्द्रमाको एक क्षेत्रमा पानी भेटिएको हो ।
नासा र जर्मन एरोस्पेस सेन्टरद्वारा सञ्चालित स्ट्राटोसफेरिक अब्जर्भभेटरी फर इन्फारेड एस्ट्रोनोमी (सोफिया) ले सूर्यको प्रकाश पर्ने चन्द्रमाको एक क्षेत्रमा पानी भेट्टाएको हो । ‘सोफिया’ उडिरहेको प्लेनमा जडित संसारकै सबैभन्दा ठूलो उड्ने अब्जर्भभेटरी टेलिस्कोप हो ।
सोफियाले चन्द्रमाको ‘क्लेभियस क्रेटर’ मा पानी फेला पारेको हो । क्लेभियस क्रेटर चन्द्रमाको दक्षिणी ध्रुवमा अवस्थित छ । यसलाई पृथ्वीबाट पनि देख्न सकिने नासाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नासाको यो खोज सम्बन्धीको अनुसन्धान नेचर एस्ट्रोनोमी जर्नलमा पनि प्रकाशित छ ।
भेटिएको पानीको मात्रा थोरै भए पनि यो महत्त्वपूर्ण अनुसन्धान उपलब्धि भएको नासाका अधिकारीहरूले जनाएका छन् ।