भारत र अमेरिकाबीच ‘बेका’ सम्झौता सम्पन्न

नयाँदिल्ली : भारत र अमेरिकाबीच सैन्य सम्बन्धमा महत्वपूर्ण मानिएको ‘बेका’ सम्झौता सम्पन्न भएको छ ।

दुई राष्ट्रबीच परराष्ट्रमन्त्रीस्तरीय वार्तामा ‘बेसिक एक्सचेन्ज एन्ड कोअपरेसन अग्रिमेन्ट’ (बेका)लगायत अन्य महत्वपूर्ण सम्झौता भएका हुन् ।

बेका सम्झौताअन्तर्गत दुवै देशले एक–अर्कालाई अत्याधुनिक सैन्य प्रविधि, सामान, उपकरण र भूगर्भिक मानचित्र (जिपिएस) आदान-प्रदान गर्नेछन् ।

बैठकमा भारतका तर्फबाट विदेशमन्त्री जयशंकर र रक्षामन्त्री राजनाथ सिंह तथा अमेरिकाका तर्फबाट विदेशमन्त्री माइक पोम्पियो र रक्षामन्त्री मार्क एस्पर सहभागी थिए ।

बिबिसीका अनुसार शीर्ष सैन्य अधिकारीहरू उपस्थित रहेको बैठकमा इन्डाे-प्यासिफिक क्षेत्रको सुरक्षा, सैन्य तथा सामरिक रणनीतिक विषयमा छलफल भएको थियो ।

बैठकपछि अमेरिकी रक्षामन्त्री माइक एस्परले सबैका लागि खुला र स्वतन्त्र इन्डाे-प्यासिफिक क्षेत्र बनाउन र चीनको बढ्दो आक्रामकताविरुद्ध अमेरिका र भारत काँधमा काँध मिलाएर उभिएको टिप्पणी गरे । एस्परले बैठकमा क्षेत्रीय सहयोग बलियो बनाउने, रक्षा व्यापार बढाउने र सेनाहरूबीच पनि पारस्परिक सहयोग भएको बताएका छन् ।

अमेरिका र भारतबीच भएको बेका सम्झौता रक्षा क्षेत्रका चारवटा सम्झौताको अन्तिम भाग हो । सैन्य सूचनाको सुरक्षाको पहिलो सम्झौता सन् २००२ मा गरिएको थियो । त्यसपछि लजिस्कटक र सुरक्षित सञ्चारसँग जोडिएका अन्य दुई सम्झाैता सन् २०१६ र २०१८ मा गरिएको थियो ।

आज भएको सम्झौताअन्तर्गत भारतले अमेरिकाबाट ‘सटिक जियोस्पेसियल’, ‘जियोस्पेटिकल’ अर्थात् वास्तविक भूस्थानको जानकारी प्राप्त गर्न सक्नेछ । यसको प्रयोगबाट सैन्य कारबाही र हजारौँ किलोमिटर टाढाबाट निर्धारित स्थानमा निशाना लगाउन सकिनेछ ।

कमेन्ट गर्नुहोस्