बच्चा बचाउन लाग्ने प्रचण्ड, अनि ओली कसरी असली आमा ?

दिपक चुदाली
बच्चाको घाँटी बारम्बार निमोठन खोज्ने आमाले वास्तविक आमाको दावी गरेको चर्चा यतिखेर चौतर्फी छ ।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको हो । ओलीले एउटा अन्तर्वार्तामा आफू असली आमा भएको दावी गर्दै प्रचण्डले बच्चा मार्न खोजेको आरोप लगाए ।
तर घटनाक्रम र इतिहासले देखाउँछ– केपी ओलीले अस्तित्व संकटबाट जोगिन बच्चा जन्माए र जन्माइसकेपछि त्यहि बच्चालाई सिध्याउने बारम्बार प्रपञ्च रच्दै आए ।

फर्कौं विगततिरः

सिंहदरवारमा कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्व थियो । तत्कालीन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको समर्थनमा सिंहदरवार प्रवेश गरेका देउवाको कार्यभार चुनाव सम्पन्न गर्नु थियो । धेरैले सरकारको संरचना हेरेर कांग्रेस र माओवादीबीच चुनावी गठबन्धन हुने स्वभाविक बहस गरिरहेका थिए ।

यो अपेक्षाविपरित २०७४ असोजमा नेपाली राजनीतिमा नाटकीय रुपले एउटा घटना विकास भयो । तत्कालीन प्रमुख प्रतिपक्षी नेकपा एमाले र सत्तारुढ माओवादी केन्द्रले प्रदेश तथा संघीय चुनाव मिलेर लड्ने र अन्ततः पार्टी एकता गर्ने सहमति गरे । यो सहमति माओवादीसँग मिलेर सरकार चलाइरहेको कांग्रेसका लागि मात्रै हैन, नेपाली जनताकै लागि अप्रत्याशित थियो । तर, कांग्रेसलाई सरकारमा समर्थन गरेको तत्कालीन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले निकै जोखिम मोल्दै उक्त सहमति गरेका थिए ।

निकै दूरगामी कदमका रुपमा देशलाई स्थिर सरकार दिन र बलियो कम्युनिष्ट केन्द्र बनाउने महान भावनासहित प्रचण्डले देउवासँगको सहकार्य तोडेर त्यो निर्णय गरेका थिए । जबकि प्रचण्डलाई प्रधानमन्त्री बन्ने सजिलो बाटो कांग्रेससँगको सहकार्य नै थियो ।

अस्वभाविक जस्तो लाग्ने त्यो सहमतिपछि आम जनतामा ठूलो उत्साह देखियो । दुई ठूला बामपन्थी दलबीच चुनावी तालमेलपछि एकता नै हुने भएपछि नेता तथा कार्यकर्तामा पनि खुसीयाली छायो । त्यहीअनुसार तत्कालीन एमाले र माओवादी केन्द्रका नेता तथा कार्यकर्ता मत माग्न गए, २०७४ सालमा भएको प्रदेश र केन्द्रको चुनावमा ।

तत्कालीन एमाले र माओवादीका नेता कार्यकर्ताले स्थिर सरकार, सम्बृद्ध नेपालको सपना देखाए, जसलाई नेपाली जनताले पनि पत्याउँदै एमाले–माओवादी गठबन्धनलाई झण्डै दुईतिहाई मत दिए । प्रचण्डको ऐतिहासिक कदमलाई जनताले अनुमोदन गरेका थिए ।

निर्वाचनपछि तत्कालमा नेकपा माओवादी केन्द्र सरकारमा गएन । केप ओलीको नेतृत्वमा सानो मन्त्रीमण्डल गठन भयो । तर एकता गर्नैपर्ने थियो । यही बीचमा दुवै पार्टीएकता गर्ने र पाँच वर्षको अवधि आलोपालो सरकारको नेतृत् वगर्ने सहमति बन्यो । पार्टी एकताको घोषणासँगै तलदेखि माथिसम्म नयाँ उर्जा प्रवाहित भयो ।

धोकाको शुरुआत

२०७६ को मंसिर ४ मा प्रचण्डले आफैंले प्रतिनिधिसभाको बाँकी कार्यकालसम्म प्रधानमन्त्री केपी शर्मा ओली नै निरन्तर हुने र आफू कार्यकारी अध्यक्ष भएर पार्टीको काममा केन्द्रित हुने निर्णय सचिवालय बैठकमा गराए । त्यो निर्णयसँगै प्रचण्डले आलोपालो प्रधानमन्त्री हुने भनिएको यसअघिको सहमति राजनीतिक स्थायित्वको सन्देश दिन र सम्बृद्ध नेपालको सपना पूरा गर्न भन्दै अत्य गरे । तर, यता अर्का अध्यक्ष ओलीका लागि एकता सत्ता हत्याउने एउटा रणनीतिक अस्त्रमात्र थियो र राजनीतिक इमान्दारिता थिएन भन्ने कुरा बिस्तारै घटनाक्रमले देखाउँदै लगे । उनले पार्टीलाई टेर्न छोडे । आफुखुसी मन्त्रीमण्डल हेरफेर गरे । सरकारको बजेटमा पार्टीको कुनै निर्देशन आवश्यक ठानिएन । पार्टीले निर्णय गर्दा समेत राष्ट्रियताका पक्षमा र नयाँ नक्साको पक्षमा कुनै काम अघि बढेन ।

निकै दबाबपछि बल्ल उनले नयाँ नक्साको विधेयक सदनमा लगे । तर, त्यसको सम्पूर्ण जस आफूले लिन खोजे । जबकि त्यो नक्साको कुरा सचिवालय बैठक चलेको बेला मुख्यसचिवलाई फोन गरेर नीति तथा कार्यक्रममा राख्न लगाइएको थियो ।

यो परिस्थितिमा पनि प्रचण्डले विगतमा अढाई वर्षपछि सरकारको नेतृत्व परिवर्तनको सहमतिले ओलीलाई अप्ठ्यारो भएको हो भने आफू ब्याक हुने बताए । मंसिर ४ मा ओलीले पाँच वर्ष सरकार चलाउने र प्रचण्ड कार्यकारी अध्यक्ष बन्ने सहमति बन्यो । तर ओलीका लागि यो पनि तत्कालको संकट टार्ने अस्त्र मात्रै थियो । मंसिर ४ को निर्णय भएको केही दिनमै ओलीले एक टेलिभिजनमा ‘पहिलो अध्यक्ष र कार्यकारी अध्यक्ष समेत म नै हुँ’ भन्दै अन्तर्वार्ता दिए ।

कोरोनाको असफलता र कर्पोरेट यात्रा

कोरोनाका कारण संक्रमण भन्दा बढी सरकारको आलोचना बढ्दै थियो । सरकारको आलोचना कम होस् भन्ने चाहना प्रचण्डको थियो । त्यसकारण उनले प्रधानमन्त्री ओलीकै अध्यक्षतामा एक सर्वदलीय संयन्त्र बनाउने प्रस्ताव गरेका थिए । तर, उक्त प्रस्तावबाट ओली डराए । उनले कतै आफूलाई प्रधानमन्त्रीबाट हटाउने चलखेल त हैन भन्ने रुपमा प्रचण्डको प्रस्तावलाई बुझे । यसबाट प्रष्ट हुन्थ्योे, ओलीलाई कतै कुर्सी जाला कि भन्ने कति ठूलो डर थियो ।

लकडाउनमै सांसद अपहरण प्रकरण, ओम्नी प्रकरण, भ्रष्टाचार, कोरोना परीक्षणको दायरा नबढाएकोलगायतका दर्जनौं विषयमा सरकारको आलोचना भइरहेको थियो । तर, ओलीले भने पार्टीमा कुनै छलफल नगरी एक्लाएक्लै विवादित निर्णय गर्दै गए । जसका कारण ओली सरकार मात्रै हैन, नेकपाकै जनमत घट्दै थियो । जनतामा वितृष्णा बढ्दै जाने र कर्पोरेटहरुका पक्षमा एकपछि अर्को निर्णय हुन थालेपछि पार्टीमा गम्भीर बहस शुरु भयो । तर ओली भने संवादमा आउन खोजेनन् ।

स्थायी कमिटिको बैठकमा आउन नखोज्ने तर बैठक चलिरहेको बेला फाउण्डेसनको कार्यक्रमबाट उनले आफूविरुद्ध भारतले षडयन्त्र गरिरहेको कुरा अघि सारे । बच्चाको माया हुनेका लागि यो भन्दा ठूलो घात के हुनसक्थ्यो । उनले विधि र पद्धतीको कुरा गर्थे भने आफ्ना सबै कुरा बैठकमा राख्थे । बैठकमा कुरा नराख्ने, आलोचना नसुन्ने र आफूले जे गरेको हो, त्यो अरुले मान्नैपर्ने उनको प्रवृत्ति झनै विकास हुन पुग्यो ।

स्थायी समितिको सहमति र धोका

पछिल्लो समय विवाद चर्किएपछि पछिल्लो स्थायी कमिटी बैठकले गठन गरेको ६ सदस्यीय कार्यदलले कार्यकारी अध्यक्षको भूमिका पुर्नभाषित गर्ने भनेको थियो । महत्वपूर्ण नियुक्ति तथा निर्णय गर्दा पार्टीमा छलफल तथा निर्णय दुई अध्यक्ष ओली–प्रचण्डले गर्ने भनिएको छ । तर, ६ सदस्यीय कार्यदलको सुझावलाई लत्याउँदै ओलीले मन्त्रिपरिषद् पुर्नगठन, राजदूत नियुक्ति एकलौटी रुपमा गरे । जसबाट समस्या बल्झेर नेकपाको विवाद यो स्थितिमा आएको छ । तर, ओली बैठकबाट भाग्ने गरेका छन् । सचिवालय बैठक बोलाउन माग गर्दै सचिवालयका पाँच नेता शनिबार बालुवाटार पुगेका थिए ।

यी विभिन्न घटनाक्रमलाई हेर्दा ओलीले एकतालाई सत्तामा पुग्ने भर्याङ बनाएको देखिन्छ । आफ्नो प्रतिकूल हुँदा पार्टी विभाजनसम्मको प्रयास गरेका छन् । अर्कातर्फ प्रचण्डले एकतादेखि नै राजनीतिक स्थिरता र सम्बृद्धिका लागि विभिन्न त्याग गर्दै आएका छन् ।

असली आमा कि घाँटी निमोठ्ने आमा ?

पछिल्लो समय पार्टी विवाद चर्कँदै गर्दा ओली बैठकबाट भागिरहेका छन् । तर, शनिबार मात्रै ओलीले एक टेलिभिजनलाई अन्तर्वार्ता दिएका छन् । अन्तर्वार्तामा उनले आमा र बच्चाकोे कथा सुनाउँदै अरुले पार्टीमा गुटबन्दी गरेको, पार्टी फुटाउन खोजेको आरोप लगाएका छन् ।

साथै, आफूलाई असली आमा भएको संकेत गर्दै आफूले पार्टी एकता जोगाउन लागिपरेको बताएका छन् । तर, उनले पार्टी फुटाउन सजिलो हुने गरी अध्यादेश ल्याएको, प्रचण्डलाई सहमतिमै पार्टी फुटाऔं भनेको कति चाडैं विर्सेका ? अनि ओली कसरी भए असल आमा ? यसको जवाफ उनी आफैंले दिनैपर्छ ।

नेकपा जन्माइसकेपछि त्यसको रक्षा गर्न केही निश्चित विधि पद्दती पालना गर्नु पर्दैनथ्यो । उनले जे गरेपनि हुने तर अरुले बोल्नै नहुने भनेको के साँचो आमा हुने अवस्था हो । यो त तानाशाही आमा हुने स्थिति होइन र ? सल्लाह र सहमतिमा नचल्ने अनि उनले गरेको सबै ठीक हुने ? यता जनतामा निराशा चुलिएर राजावादीदेखि प्रतिक्रियावादीहरु सक्रिय हुँदै जाने ? उपचार गर्न नपाएर जनताले परीक्षण समेत गर्न डराउने अवस्था के कारणले सिर्जना भयो ? सच्चा आमाले के त्यही गर्छिन् र ? ५० हजार धरौटी राखेर उपचार गर्ने हैसियत नेपाली जनताको छ ? सिटामोल किन्न नसकेर मर्न बाध्य हुने देशमा उनले आमाको भूमिका के साँच्चिकै निर्वाह गरेका छन् ? कोरोनाले बजारमा महंगी यति चुलिएको छ, बेरोजगारी चुलिएको छ । आम श्रमिक किसानहरु बेहाल अवस्थामा पुगेका छन् । अनि असली आमाको दावी गर्दा लाज लाग्दैन ?

प्रचण्डले पार्टी एकतादेखि अहिलेसम्म एकता बचाउन, स्थित सरकार बनाउन, देश विकास र सम्बृदिका लागि अनेकौं त्याग गरे । प्रचण्डले बच्चा अर्थात एकता बचाउन लागि परेका छन् । तर दल विभाजनसम्बन्धी अध्यादेशसहितका पार्टी विभाजन लागि अनेकौं प्रयास गरेका ओली कसरी असल आमा भए ? यो जवाफको प्रतिक्षमा समग्र नेकपाका नेता तथा कार्यकर्ता छन् ।

कमेन्ट गर्नुहोस्