दार्चुलाः कालापानी क्षेत्रमा सेवा विस्तार गर्ने उद्धेश्यले नेपाल टेलिकमले जिएसएम (नमस्ते) को टावर निर्माण शुरु गरेको छ ।
सिडिएमए (स्काइ) टावर मात्रै सञ्चालनमा रहेको ब्यास गाउँपालिका–१ छाङ्गरु स्वास्थ्यचौकी भवन नजिकै टेलिकमले नमस्तेको टावर निर्माणका लागि जग खन्ने काम शुरु गरेको हो । टावर निर्माणका लागि १८० क्विन्टल बढी टेलिकमका टावर तथा समान ढुवानी भइरहेको छ ।
गत आर्थिक वर्ष २०७६–०७७ मा सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा टेलिकमको लागि दुई वटा भवन निर्माण गरिएको छ । हेलिकोप्टरमार्फत टावरको समान ढुवानी शुरु भएपछि टावरका लागि चाहिने जग खन्ने काम शुरु भएको ब्यास गाउँपालिका–१ का वडाअध्यक्ष अशोकसिह बोहराले जानकारी दिए । ब्यासमा बाह्रैमास बस्ने गरी सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म स्थापना भएपछि सञ्चारको आवश्यकता झनै बढेको छ ।
गृह मन्त्रालयले ब्यासको विकासका लागि विशेष प्याकेज बनाएर काम थालेसँगै टेलिकमको टावर पनि निर्माण शुरु गरिएको बताइएको छ । नमस्तेको टावर जडान भएपछि भारतले अतिक्रमण गरेका तीन गाउँ, नावी, गुञ्जी र कुटीसम्म यसको पहुँच पुग्नेछ ।