‘मेरा साना त्यागले अर्ज्याकाे सचिवालय बैठक हैन…!’

समाचार टिप्पणी । पृथ्वी नारायण शाहले नेपाल राज्यको एकीकरणका सन्दर्भममा भनेको एउटा भनाई निकै चर्चित छ । तत्कालिन समयमा अहिलेको नेपाल भूभागभित्रका कैयन राज्यहरु कब्जा गरेपछि उनले भनेका थिए रे– मेरा साना दुखले अज्र्याको मुलुक होइन ।

अर्थात् पृथ्वी नारायण शाहले आफ्नो ठूलो प्रयास, अथक संघर्ष र लामो लडाईपछि तत्कालिन एकीकृत नेपाल बनाएको दावी गरेका थिए ।

अहिले ठीक त्यस्तै अवस्था नेपालको सबैभन्दा पार्टी, त्यसमा पनि लेनिनवादी संगठनात्मक सिद्दान्त मान्ने भनेर दावी गर्ने कम्युनिष्ट पार्टीको छ ।

र, यो सबैभन्दा ठूलो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज सचिवालय बैठक बस्दैछ ।

त्यसो त कुनै पार्टीका कमिटिगत बैठकहरु बस्नु सामान्य प्रक्रिया हो, त्यसका लागि यतिविधि चासो र चर्चा आवश्यक हुँदैन पनि । तर, यो सचिवालय बैठक चानचुने भने कदापी होइन । यसमा पनि
उही पृथ्वीनारायण शाहले भनेजस्तै छ– मेरा साना दुखले बस्न लागेको सचिवालय बैठक होइन ।

सचिवालय बैठक आव्हान गर्न सचिवालयका ५ जना सदस्यहरुले दर्जनबढी पटक छलफल गरे होलान्, स्थायी समिति सदस्य, केन्द्रीय समिति सदस्य, प्रदेश, जिल्ला र नगरदेखि समर्थकसम्म हजारौंले यसको चर्चा परिचर्चा गरे होलान् । यतिले मात्रै नपुगेर सचिवालयका ५ जना सदस्यले दुईपटक त पार्टीका अध्यक्ष तथा प्रधानमन्त्रीलाई भेटेरै अनुरोध गरे ।

याे पनि पढ्नुस  एमसीसी पारित गर्नुपर्छ भनेको छैनः भीम रावल

भेटले पनि पुगेन, यी ५ जना सचिवालय सदस्यले लिखितरुपमा नै सचिवालय बैठक बोलाउन अनुरोध गरे ।

ध्यान दिनैपर्ने कुरा के हो भने यी ५ जनामा एकजना भने कार्यकारी अध्यक्ष हुन । उनले सोझै सचिवालय बैठक बोलाउन सक्ने अधिकार पाएका छन् ।

तर पार्टी एकता जोगाउनका लागि यी कार्यकारी अध्यक्षसहित ५ जनाले बारम्बार अर्का अध्यक्षसँग बैठक बोलाउन अनुरोध गरे ।

तर बैठक बस्ने छाँट देखिएन । यता समर्थक र नेता कार्यकर्ताबीच ‘पलपल दिल के पास सचिवालयका बैठक’ भन्ने अवस्था कायमै थियो ।

लिखितरुपमा अनुरोध गर्दा समेत बैठक नबस्ने भएपछि कार्यकारी अध्यक्षले पार्टीलाई अनिर्णयको बन्दी बनाउन नमिल्ने भनेर हिजो कार्तिक २७ गतेका लागि बैठक आव्हान गरे ।
यो अन्तिम प्रयास थियो । यदि अर्का अध्यक्षले फेरी पनि बैठक नबोलाउने भनेको भए हिजो बैठकमा जे पनि हुन सक्थ्यो ।

यता सचिवालयको बैठकका लागि यतिविधि अनुरोध भइरहेको थियो, उता अर्का अध्यक्ष भने हेलिकप्टर बोकेर पूर्वी पहाडतिर लागेका थिए । साथै उनले पार्टी कमिटिमा भन्नुपर्ने कुरा मिडियामा भनिरहेका थिए– म बैठक बोलाउन्न ।

याे पनि पढ्नुस  `नेकपा फुटे राष्ट्र नै संकटमा पर्छ´

तर अन्ततः उनी गले । या उनले बस्तुस्थितिको गम्भीरता बुझे । गलाउन सकिन्छ कि भन्ने उनको रणनीतिले उल्टै उनीमाथि नै प्रहार गर्ने बुझेर होला, उनले अन्तिम अवस्थामा आएर आजका लागि सचिवालयको बैठक बोलाउन सहमति दिए ।

र, यसरी आज अपरान्ह नेकपाको सचिवालय बैठक बस्दैछ ।

साना दुखले अज्र्याको सचिवालय बैठक होइन, प्रचण्ड–माधवहरुको निकै ठूलो प्रयास र संघर्षले जन्माएको बैठक ।

अब के होला ?

आजको सचिवालय बैठक आजै समापन होला भनेर भन्ने स्थिति देखिन्न । किनभने पहिलो कुरा त यो बैठक बोलाउन जुन माथि उल्लेखित संघर्ष छ, त्यो नै अनौपचारिक एजेण्डा बन्ने छ । प्रधानमन्त्री तथा अध्यक्ष ओलीले फेरी आफूमाथि घेराबन्दी गर्न खोजेको, काम गर्न नदिएको, गुटले निर्णय गरेर पेल्न खोजेको भन्दै आक्रोश व्यक्त गर्नेछन् ।

तर उनले यसअघि स्थायी समितिको निर्णयविपरित किन अघि बढेको र स्थायी समिति बैठकका निर्णय कार्यान्वयनका लागि कार्ययोजना बनाउन किन चासो नदिएको भन्ने कुराको जवाफ दिने छैनन् ।

उनले भारतीय जासुसी संस्थाका प्रमुखसँग पार्टी र सरकारकै संयन्त्रलाई जानकारी नदिएर त्यसरी किन भेट्नु परेको हो भन्ने कुराको स्पष्ट जवाफ दिने छैनन् ।

याे पनि पढ्नुस  प्रदेश ५ मा पनि नेकपाकै उम्मेदवार विजयी

उनले उपचारको दायित्वबाट सरकार किन पछि हटेको र सवोच्चको बाध्यकारी आदेशले मात्रै फेरी उपचार निशुल्क गर्ने निर्णय गर्नुपरेको विषयमा आत्मालोचना गर्ने छैनन् ।

उनले राजनीतिक नियुक्ति र मन्त्रीमण्डल पुनर्गठन गर्दा पार्टीमा यसअघि भएको सहमति किन पालना गरिएन भन्ने कुराको जवाफ दिने छैनन् ।

यस्ता कैयन प्रश्नहरु छन, जहाँ प्रधानमन्त्रीले आत्मस्वीकारोक्ति गर्ने छैनन्, आत्मालोचना गर्ने छैनन् । जे गर्न सक्छौ गरको उनको भाषा हुनेछ । र, यो रहिरहेसम्म सचिवालय बैठक चलिरहनेछ । त्यसैले आजको बैठकले नै निर्णायक केही गर्छ भनेर आशा गर्न सकिने ठाउँ छैन ।

तर आजको बैठकले तिहारपछि फेरी यही बैठकलाई निरन्तरता दिने निर्णय गर्न सक्नेछ । यसका साथै स्थायी समितिका निर्णय कार्यान्वयनका लागि ठोस कार्ययोजना बनाउन कुनै समिति गठन गर्ने प्रस्तावमा छलफल गर्न सक्नेछ ।

जे होस्, नेकपाका शुभेच्छुक तथा कार्यकर्ताहरुले भने पार्टी एक भएको र विधि तथा पद्दतीमा हिँडेको हेर्न खोजेका छन् । उपलब्धि उल्ट्याउने दिशामा होइन, जनतामा आशा र भरोसा जगाउने गरी सरकार र पार्टी अघि बढेको हेर्न खोजेका छन् । यो अपेक्षालाई सचिवालयले कसरी पुरा गर्ने हो, त्यो कुरा भने हेर्न बाँकी छ ।

कमेन्ट गर्नुहोस्