स्थायी समिति हुल्लडबाज र केन्द्रीय समिति सडकछापको जमात– केपी ओली, (तीनवटा पत्रका सवाल–जवाफ)

नेपाल कम्युनिष्ट पार्टीभित्रको विवादले लिखित छलफलको रुप लिएको छ । पार्टीमा दुई लाईन संघर्ष स्पष्टरुपमा देखिनुले छलफललाई व्यवस्थित तरिकाले अगाडि बढाउन समेत मद्दत पुगेको कतिपयले विश्लेषण गरेका छन् ।

पार्टीका दुई अध्यक्षबीच विकास भएको दुई लाईनको संघर्ष मूलतः संगठनात्मक कार्यशैली र चिन्तनपद्दतीसँग जोडिएका छन् । नेकपा सचिवालयका नौ जनामध्ये ५ जनाले सचिवालय बैठक बोलाउन माग गर्दै लिखित पत्र बुझाएपछि ओलीले त्यसको प्रतिवाद गर्दै लिखित उत्तर दिएका थिए ।

ओलीले लिखित प्रतिवाद गरेपछि पाँच जनाका तर्फबाट अध्यक्ष प्रचण्डले पुनः राजनीतिक प्रस्ताव सचिवालय बैठकमा पेश गरेका छन् ।

अब सचिवालय बैठकमा यी दुबै पक्षबीच हुने वादविवादसँगै पार्टीमा स्पष्ट दुई लाइनको संघर्ष विकास भएर जाने छ ।

दुईलाइन संघर्षमा कुन पक्षको दावी के छ त ?

१. पाँच नेताको सवाल : पार्टी स्थायी कमिटीले कोरोनाको बढ्दो संक्रमणबाट उत्पन्न विषम परिस्थिति, पार्टीको बृहत्तर हित एवं एकता, राष्ट्रिय महाधिवेशनको तयारीलगायत पार्टी–जीवनलाई गति प्रदान गर्ने तथा राष्ट्रियता र जनजीविकासँग सम्बन्धित कतिपय ज्वलन्त समस्याको समाधानमा सरकारका काम–कारबाही प्रभावकारी तुल्याउने निर्णय गरे पनि पार्टी र सरकारका सबै कामहरू त्यसअनुरूप निर्देशित हुन सकेनन् । कार्यान्वयन नहुनुमा प्रधानमन्त्रीसमेत रहेका केपी ओली नै जिम्मेवार हुनुहुन्छ । उहाँले पार्टी र सरकारलाई विधिसम्मत सञ्चालनको निर्णयको अवज्ञा गर्नुभएको छ ।

ओलीको जवाफ : स्थायी कमिटीले सहमतिमै दुई अध्यक्षको कार्यविभाजन गरेपछि बैठकको निर्णय कार्यान्वयनका सवालमा दर्जनौँपटक भेटवार्ताका आधारमा जुनसुकै विकल्पबाट मन्त्रिमण्डल पुनर्गठनको टुंगो लगाउन सुरुमा प्रचण्डले नै सहमति दिए, तर वरिष्ठ नेता माधव नेपालसहितलाई गलत ‘ब्रिफिङ’ मात्रै गरेनन् पछि पहिलो चरणमा नियुक्त भएका उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई हटाउनुपर्ने अडान राखे । अर्थमन्त्रीमा विष्णु पौडेलसहित तीनजनाको नाममा सहमति जनाएर प्रचण्डले अडान फेर्दै अर्थमन्त्रीबाहेक नियुक्तिमा असहमति जनाए । युवराज खतिवडा र पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई राजदूत नियुक्तिमा सहमति जनाए पनि गलत आरोप लगाइयो ।

याे पनि पढ्नुस  उपसभामुखलाई राजीनामा गराउँदै नेकपा, को बन्दैछ नयाँ सभामुख?

प्रचण्डको प्रतिजवाफ : पोखरेल र बादलको निरन्तरतामा असहमति जनाएको होइन । बरु उहाँहरूसहित प्रदीप ज्ञवालीलाई निरन्तरता दिनुपर्ने मत राख्दै आएको र बादललाई एक वर्षदेखि उपप्रधानमन्त्री बनाउनुपर्ने अडान राख्दै आएको सन्दर्भमा तथ्यको र यति भयानक झुटको पर्दाले छोप्ने तपार्इंको नियतलाई मैले कसरी बुझ्ने ? अति गर्नु, अतिचार नगर्नु भन्छन् यो देख्दा त मलाई पनि भन्न मन लागेको छ, ‘एनअफ इज एनअफ’ । मैले मन्त्रिमण्डलको व्यापक पुनर्गठन गरेर जाँदा राम्रो हुने मत राख्दै आएको छु । तपाईंले आवश्यक ठानेकाहरूलाई निरन्तरता दिन नेताहरूका बीचमा समन्वय कायम गर्न पहल गर्नुको सट्टा एक–अर्काका विरुद्ध जुधाउन र चलखेल गर्न खोज्ने कुराको योभन्दा ठूलो प्रमाण अरू के हुन सक्छ ?

२. पाँच नेताको सवाल : कोभिड संकटको व्यवस्थापन, कर्णाली संकट, पर्सा घटना, भारतीय ‘रअ’ प्रमुखको नेपाल भ्रमण, पार्टीमा देखापरेको समस्या र संकटको निवारण, पार्टी एकताको रक्षा गर्दै पार्टी जीवनलाई स्वाभाविक गति दिन र सरकारलाई प्रभावकारी तथा लोकप्रिय बनाउन तत्काल पार्टी सचिवालयको बैठक राख्न प्रचण्डले जोड गर्दै आए पनि बेवास्ता गरियो । स्थायी कमिटी र सचिवालयले पटक–पटक गरेका निर्णयका विपरीत आफूखुसी सबै राजनीतिक नियुक्ति गर्न थाल्नुभएपछि स्थिति झनै गम्भीर बन्यो ।

ओलीको जवाफ : बैठक राख्ने सवालमा प्रचण्डले दुनियाँलाई ढाँटेका छन् । दुई अध्यक्षात्मक व्यवस्थालाई प्रभावकारी कार्यान्वयनका लागि स्थायी कमिटीले कार्यविभाजन ग¥यो । पछिल्लो स्थायी कमिटी बैठकपछि जारी अन्तरपार्टी निर्देशनमा अध्यक्षद्वयको परामर्शमा महासचिवले सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी बैठकको कार्यसूची तयार गरेर बोलाउने उल्लेख छ । यही अपानिमा टेकेर कार्यसूची तयार नभई बैठक बस्न मिल्दैन भनेको कुरालाई ब्रिफिङ सुन्न मन पराउने नेतालाई सचिवालय तेरो गुट हो, त्यसको बैठक नबस्ने, बसेमा पार्टी फुटाइदिन्छु भन्दै ब्रिफिङ गरियो । यस्तो मिथ्या आरोप केका लागि ? दोहो¥याएर, तेहे¥याएर भन्छु– वैधानिक व्यवस्थाअनुसार बैठक बसौँ, कार्यसूची तयार गरेर बसौँ, मर्यादित ढंगले बहस गरौँ ।

याे पनि पढ्नुस  नेकपा परित्याग गरेर १२५ जना कांग्रेस प्रवेश

प्रचण्डको प्रतिजवाफ : दुुई अध्यक्षबीचको कार्यविभाजनको सन्दर्भमा ओलीले जहिले पनि हलो अड्काउने र गोरु चुट्ने नीति अवलम्बन गर्दै आउँदा ठूलो पीडा र अपमानबोध गराएको छ । पार्टी एकताको वेलाको समान हैसियत, आलोपालो अध्यक्षता र आलोपालो सरकारसमेत मैले तपाईंको जिद्दी र पार्टी एकताप्रतिको मेरो निष्ठाका कारण छोड्दै गएँ । तर, मैले जति त्याग ग¥यो तपाईंले त्यति नै अपमानित गर्ने काम बढाउँदै लानुभयो । अघिल्लो ४ मंसिरमा कार्यविभाजनको दुई दिन नबित्दै कार्यकारी हैसियतमाथि सार्वजनिक रूपमा चुनौती दिएर ओलीले खुल्ला अवज्ञा गरे ।

३. पाँच नेताको सवाल : कार्यकारी अध्यक्षले बैठकका लागि अनुरोध गर्दा पार्टी एकता समाप्त भयो, आ–आाफ्ना पार्टी चलाउन लागौँ भन्ने ठाडो जवाफ आयो । छलफलका लागि अस्वीकार गर्दै सचिवालय तपाईंको गुट हो, स्थायी कमिटी हुल्लडवाज कमिटी हो र केन्द्रीय कमिटी सडकछाप कमिटी हो, बैठकको के आवश्यकता भन्दै पार्टीका ती सर्वोच्च निकायलाई अपमान गरियो, सबै कमिटीमा बहुमत भए पनि मानिँदैन भनियो । कार्यकारी अध्यक्षको हैसियतले बैठक बोलायो भने त्यही दिन पार्टी फुट्यो भन्ने अभिव्यक्ति आयो ।

ओलीको जवाफ : २२ गतेको पत्रमा असहमति होइन, आरोप लगाइएको छ । पार्टी सम्हाल्ने होइन, नेता–कार्यकर्तालाई भड्काएर विग्रहमा लान खोजिएको छ । त्यो झुटो आरोप हो । यतिसम्म झुटा कुरा घोलेर कथा बुन्न सक्नुहुन्छ भन्ने सोच्न पनि सकिन्न । साढे तीन बीस उमेर कटाइसकेका सहपाठीबाट यस्तो आरोप किन र केका लागि ? कथानक आरोपलाई पुष्ट्याइँ नै गर्न खोजेको हो भने बुझाइको स्तरमै निःसन्देह शंका गर्नुपर्ने हुन्छ ।

याे पनि पढ्नुस  २ दिनभित्रै स्थायी कमिटि बैठक बोलाउँछौंः अध्यक्ष प्रचण्ड

प्रचण्डको प्रतिजवाफ : एकता–संघर्ष–रूपान्तरण र नयाँ आधारमा नयाँ एकताका लागि थोरै मात्र आत्मसमीक्षा, आत्मालोचना र त्यागको स्पिरिट देखाउनुभयो भने त्यो ठूलो कुरा हुनेछ । मेरो विचारमा यो सबैका निमित्त थोरै त्याग गर्ने पालो तपाईंको छ ।

४. पाँच नेताको सवाल : राष्ट्र तथा जनताको हित, पार्टी तथा आन्दोलनको आवश्यकता, आमकार्यकर्ता तथा शुभेच्छुकको चाहना र जनादेशलाई केन्द्रमा राख्दै पार्टीको विधि, पद्धति र निर्णयलाई सबैले पालना एवं कार्यान्वयन गर्ने गरी पार्टी एकताको रक्षा गर्नु र जनताले अहिले भोगिरहेको संकट तथा कष्टको समाधान गर्नु आजको अपरिहार्य आवश्यकता हो । त्यसका लागि तत्काल सचिवालयको र त्यसपछि आवश्यकताअनुसार अन्य केन्द्रीय निकायहरूको बैठक बस्नु अनिवार्य भएको छ । 

ओलीको जवाफ : जहिले सचिवालयको बैठकअघि समूहगत योजना नबनाई चित्त नबुझ्ने किन ? गुटगत क्रियाकलाप भनेको त्यही होइन, प्रचण्डलाई दोह¥याई–तेह¥याई भनेको छु । खुमलटारनिवासलाई गुटको हेडक्वार्टर नबनाउन आग्रह गरेको छु । समीकरणका आधारमा दबाब दिन, अंकगणितका आधारमा राजनीतिको हिसाब नगर्न बारम्बार भनेको छु । कटअफ डेटपछि पनि यस्ता गतिविधि किन ?

प्रचण्डको प्रतिजवाफ : एउटा कार्यकारी अध्यक्षले वरिष्ठ नेताहरू एवं सचिवालयका सदस्यहरूसँग गरेको भेटघाट र सरसल्लाहलाई तपाईं गुटबन्दी ठान्नुहुन्छ । तपाईंले प्रतिष्ठानका नामबाट हुने गुटबन्दीजन्य क्रियाकलाप तत्काल रोक्ने र सचिवालयमा सल्लाह गरेर तिनका बारेमा उपयुक्त निर्णय लिने भन्ने स्थायी कमिटीको निर्देशनविपरीत तपाईंसमेतको निर्देशनमा कहीँ जिल्लास्तरीय, कहीँ प्रदेशस्तरीय भेला गरी प्रतिष्ठानका स्थानीय क्रियाकलाप अझ बढाउने र जबजका पक्षमा व्यापक अभियान चलाउन दिएको निर्देशन के हो ? अनि बालुवाटारमा विभिन्न प्रदेश र जिल्लाबाट बोलाएर रातिराति गरिने भेला–बैठकहरू गुटबन्दी होइनन् र ? अर्काको आङको जुम्रा देख्ने र आफ्नो आङको भैँसी पनि नदेख्ने भनेको यही होइन र ?

कमेन्ट गर्नुहोस्