१५ बुँदामा पढ्नुस् प्रचण्डको राजनीतिक प्रस्ताव

काठमाडौं । नेकपा सचिवालयको बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनको अध्यक्ष ओली समर्थकहरुले आलोचना गरेका छन् । ओली निकट स्थायी समिति सदस्य शंकर पोखरेल तथा प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले उक्त प्रस्ताव फिर्ता नलिए बैठक नै नबस्ने चेतावनी समेत दिएका छन् ।
यसै सम्बन्धमा शनिबार मात्रै ओली निकट समूहको भेला भएको छ । उता राष्ट्रपतिले समेत नेकपाका केही नेताहरुसँग छलफल गरेकी छिन् ।

के छ त प्रचण्डको प्रतिवेदनमा ? किन तरंगित भए ओली र उनी निकटहरु ?

पढ्नुस प्रतिवदेनका १५ मुख्य बुँदाहरु

  1. सरकारको नेतृत्वले पार्टीको राजनीतिक कार्यक्रम र घोषणापत्रलाई अवज्ञा गर्ने, पार्टीको मार्गनिर्देशनमा सरकार सञ्चालन गर्ने मान्यतालाई अस्वीकार गर्ने र सुशासन एवम् जनमुखी काम आचरणहरूको उपेक्षा गर्दै अघि बढ्ने हो ऐतिहासिक अवसर हेर्दा हेर्दै गुम्न सक्ने खतरा र चुनौति अगाडि देखा पर्दै जान थालेको
  2. नेतृत्व तहदेखि स्थानीय स्तरसम्म पैद र पैसाका निमित्त जे पनि गर्न उद्यत हुने घोर व्यक्तिवादी र अराजकतावादी प्रवृत्ति झाँगिदै गएको
  3. वस्तुत:, अन्तत: र मुख्यत: पार्टी र सरकारको मुख्य नेतृत्वमा रहेका कमरेड केपी ओलीका व्यक्तिवादी, गुटवादी र एकाधिकारवारवादी सोच र कार्यशैली प्रमुख रूपमा जिम्मेवार रहेका
  4. वहाँ (ओली) न कहिल्यै समाजवादको कुरा गर्नुहुन्छ न समाजवाद उन्मुख जनताको जनवादको न कहिल्यै समाजवादी आर्थिक, राजनीतिक, संस्कृति नीतिबारे चर्चा गर्नुहुन्छ, न सरकारका तर्फबाट वहाँले समाजवाद उन्मुख कुनै ठोस कार्यक्रम अगाडि सार्नुभएको छ
  5. वहाँ (ओली) ले पार्टी, विचार, नीति र योजनाको होइन बरु प्रतिष्ठानका नाममा आफ्नो गुटलाई पुरानै रूप र मान्यताअनुसार सक्रिय पारी एकताको मर्ममाथि प्रहार गरिरहनुभएको छ
  6. कमरेड केपी ओली कहिल्यै फागुन १ गतेको कार्यक्रम (जनयुद्धका शहीदहरूको स्मृति दिवस) मा सहभागी बन्न समेत तयार हुनुभएन
  7. आफू अप्ठ्यारोमा पर्दा आफ्ना समकक्षी नेताहरूलाई विभिन्न लोभ, प्रलोभन देखाउने र सहमत नभएमा डर, धाक, धम्की र चरित्रहत्या जस्ता घृणित हतियार प्रयोग गर्न वहाँ (ओली) हिचकिचाउनु भएन
  8. भारतद्वारा अतिक्रमित देशको भूभाग समावेश गरिनुपर्छ र भारतीय फौज नेपाली भूमिबाट हटाइनुपर्छ भनि शान्तिपूर्ण प्रदर्शन गर्नेमाथि दमन गर्ने तर प्रधानमन्त्रीको स्तुतिमा निस्किएका जुलुसलाई संरक्षण दिइएको देखियो
  9. मन्त्रिपरिषद्लाई निजी सचिवालयजस्तो व्यवहार गर्दै प्रशिक्षण चलाउने तथा मन्त्रीहरूलाई सचिवहरूसँग राखेर प्रशिक्षण र निर्देशन दिनुका साथै निजी सल्लाहकारलाई राखेर कार्यप्रगति विवरण माग्ने जस्ता काम प्रधानमन्त्रीबाट भए
  10. वाइड-बढी विमान खरिद, सुरक्षा छापाखाना खरिद र सञ्चारमन्त्रीको टेप प्रकरण, यति होल्डिङ्ससँगको अपारदर्शी र शङ्कास्पद कारोबार, चिनी आयात घोटाला, कोरोनाभाइरस सङ्क्रमणको नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिदमा ओम्नी समूहको साँठगाँठ र अनियमितता, बजेट सार्वजनिक गर्नुअघि अतिगोप्य राख्नुपर्ने राजस्वका दररेट परिवर्तनलाई चुहाएर विद्युत्‌बाट चल्ने गाडी र चकलेट आयातजस्ता प्रकरण भए। यस्ता प्रकरणमा मुछिएकाहरूको प्रतिरक्षा गरेर केपी ओलीले भ्रष्टाचारलाई प्रोत्साहन र संरक्षण गर्नुभयो
  11. कोरोना भाइरस सङ्क्रमणबाट सुरक्षित हुन सरकारले देशमा बन्द र बन्देजको घोषणा गरेको स्थितिमा श्रमजीवी, गरिब र कमजोर वर्ग तथा समुदायका मानिसहरूको पीडाप्रति प्रधानमन्त्री संवेदनशील हुनुभएन। ती समुदायका पीरमर्काको कुरा गर्नेप्रति व्यङ्ग्य गर्दै आलोचना गरियो
  12. स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएको कुराले नेपालको शिर झुकेको छ
  13. सरकार सञ्चालनको दुई वर्षको अवस्था हेर्दा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पूर्ण रूपले असफल देखिनुभयो
  14. प्रधानमन्त्रीले एमसीसीका सम्बन्धमा पार्टीलाई पूर्ण रूपमा गुमराहमा राख्नुभयो। पहिलेको सम्झौता भन्दा राष्ट्रिय हित र स्वाधीनतामा आँच पुग्नेगरी पार्टीबाट गोप्य राखेर कार्यान्वयन सम्झौता गर्नुभयो।
  15. ‘अति गर्नु, अतिचार नगर्नू’ भन्छन् यो देख्दा त मलाई पनि भन्न मन लागेको छ, “इनफ इज इनफ।”
याे पनि पढ्नुस  नेकपाको सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा

 

कमेन्ट गर्नुहोस्