चर्को दबाबमा प्रम ओलीः मध्यरातीसम्म पूर्व माओवादीसहितका नेताहरुसँग छलफल

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले नेपाल कम्युनिष्ट भित्र चलेको दुई लाइनको संघर्षबारे आफू निकट र केही पूर्व माओवादी नेताहरुसँग छलफल तीब्र पारेका छन् ।

अध्यक्ष प्रचण्डले ओलीको कार्यशैली र चिन्तनपद्धतीको आलोचना गर्दै सचिवालय बैठकमा लिखित प्रस्ताव नै पेश गरेपछि ओली चर्को दबाबमा परेका हुन ।

प्रस्ताव फिर्ता नलिए बैठक नै नबस्ने चेतावनी उनी निकट केही नेताले लिएपनि समग्र परिस्थितिको सामना गर्न ओलीले आफु निकटका नेताहरुसँग छलफल सघन गरेका हुन ।

सचिवालय बैठक लगत्तै उनले माधव नेपाल र वामदेव गौतमसँग छलफल गर्दै आफूलाई साथ दिन अनुरोध गरेपनि यो प्रयास भने सार्थक बन्न सकेन ।

छलफलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, पार्टी महासचिव विष्णु पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ, सुवास नेम्वाङसहितका नेताहरू सहभागी थिए । पूर्वमाओवादी केन्द्र समूहका स्थायी कमिटी सदस्यद्वय देवेन्द्र पौडेल र टोपबहादुर रायमाझी सहभागी थिए ।

श्रोतका अनुुसार, छलफलमा पछिल्लो राजनीतिक परिस्थिति र त्यसलाई सामना गर्ने विषयमा प्रधानमन्त्रीले सबैको विचार सुनेका थिए ।

सहभागी नेताहरुले भने प्रधानमन्त्री ओलीले एकता जोगाउन त्याग गर्नुपर्ने बताएका थिए ।

बैठकबाट भाग्नुभन्दा सामना गरेर जाने र सहमतिका लागि हदैसम्म लचकता अपनाउनुपर्ने नेताहरुले बताएका थिए ।

पूर्व माओवादी नेता देवेन्द्र पौडेलले दुवै अध्यक्षलाई भेटेर पार्टी फुटबाट जोगाउन र एकताको रक्षा गर्न आग्रह गरेको जानकारी दिए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले विषको घडा पिएर भए पनि पार्टी एकता बचाउन आग्रह गरेको बताएकाे इमेजखबरले जनाएकाे छ ।

प्रधानमन्त्री ओलीले पार्टी जोगाउन आफूले प्रयास गर्ने बताएको गुरुङले बताए । यद्यपी प्रधानमन्त्रीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको थियो । अध्यक्ष प्रचण्डको प्रस्तावमा ओलीले पार्टी विभाजनको षडयन्त्र गरेको उल्लेख छ । प्रचण्डले फाउण्डेसनमार्फत पार्टी विभाजनको आधार तयार पार्न ओली लागेको आरोप लगाएका छन् ।
अध्यक्ष प्रचण्डको प्रस्तावका पक्षमा सचिवालयका नौ जनामध्ये वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ रहेका छन् ।
भोली बस्ने बैठक अहिलेसम्म अनिश्चित नै छ । पार्टीमा स्पष्ट अल्पमतमा परेको अवस्थामा ओलीले चाल्ने कदमले नेकपाको भविष्य निर्धारण हुनेछ ।

कमेन्ट गर्नुहोस्