आज छठ पर्वको मुख्य दिन, तराईका जिल्लामा भव्य तयारी

काठमाण्डाै – छठ पर्वको मुख्य दिन आज शुक्रबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व बुधबारदेखि सुरु भएको हो । कोरोना महामारीका कारण यसवर्ष घरघरमै छठ पर्व मनाउने तयारी भइरहेको छ । सरकारले पनि घरमै छठ पर्व मनाउन अनुरोध गरेको छ ।शुद्धता, सद्भाव र आस्थाको महापर्व छठ आज श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ । आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वको तेस्रो दिन बर्तालुले आज बेलुकी कुण्ड, पोखरी र तलाउमा उभिई दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान अस्ताउन लागेको सूर्यलाई अर्घ दिई पूजापाठ गर्नेछन् ।

याे पनि पढ्नुस  छठ पर्वको मुख्य विधि शुरू

सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वास अनुरूप पारस्परिक आत्मीयता र सद्भावको प्रतीकका रूपमा यो पर्व मनाइन्छ । यस पर्वमा धनी, गरिब, उचनिचको भेदभावलाई छोडेर सबै वर्ग, समुदाय एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजाअर्चनाका लागि उभिने गरेको पाइन्छ ।

यस पर्वको अवसरमा चमार जातिले ढोल बजाउने, मालीले फूल, बरईले पानको पात, कुम्हारले माटोको भाँडा, डोमले बाँसका सामग्री पुर्याउने गरेका कारण पनि यो पर्वमा श्रम विभाजनको अत्यन्त वैज्ञानिक रूप दृष्टिगोचर हुन्छ ।

यस पर्वमा बाँसको सामग्रीमा अर्घ दिएपछि वंशवृद्धि, केरामा भगवान विष्णुको बास, ठकुवामा समृद्धि र मौसमी फल प्रकतिप्रति कृतज्ञताको द्योतक भएको मान्यता पनि पाइन्छ । छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरूसमेत रहेको छ । वैज्ञानिक, ज्योतिष तथा चिकित्सकहरूले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन् ।

याे पनि पढ्नुस  पूर्वयुवराज्ञी शाहद्वारा छठी माताको पूजा–अर्चना

ऋग्वेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राख्दै पनि श्रद्धालुले यो पर्वमा पूजाअर्चना गरी मनोवाञ्छित फल प्राप्त हुने विश्वास पाइन्छ ।

यसै बीच जनकपुरधाममा श्रद्धालुहरू इतिहास वर्णित सरोवर गङ्गासागर, धनुषसागर, रामसागर, रत्नसागर, विहारकुण्ड, रुक्मिणी सर, अरगजा, महाराजसागर र अग्निकुण्डलगायतका कुण्ड, पोखरी, तलाउमा यो पर्व गए रातिदेखि नै हर्षोल्लासका साथ मनाइरहेका छन् । गए राति खरना सम्पन्न भएदेखि नै श्रद्धालुहरूले जलाशयमा बनाइएको घाटमा पूजा सामग्री राखी छठ पर्वको भक्तिमय वातारवणको अनुभूति गराइरहेका छन् ।

याे पनि पढ्नुस  आज छठको तेस्रो दिन, सूर्यको आरधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदै

आवरण तस्वीर: प्रसिद्ध घडिअर्वा पोखरी
छठ पर्वका लागि बिहीबार रङ्गविरङ्गी विजुली बत्तीले सिङगारिएको वीरगन्जको प्रसिद्ध घडिअर्वा पोखरी परिसर । कोरोना संक्रमणका कारण पोखरी परिसरमा पंडाल तथा अन्य साजसज्जामा स्थानीय प्रशासनले रोक लगाएपछि अन्य वर्ष सरह यस वर्ष सजावट नगरिएको छठ पूजा व्यवस्थापन समिति घडिअर्वा पोखरीका अध्यक्ष प्रेम साह कानुले जानकारी दिनुभयो । छठ पर्वका लागि घडिअर्वा पोखरीमा गरिने साजसज्जा हेर्न छिमेकी जिल्ला तथा सिमावती भारतीय सहरबाट हजारौंको संख्यामा आउने गरेका छन । तस्वीर ः विजय कुमार महतो, रासस

कमेन्ट गर्नुहोस्