काठमाडौंः जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले क्रान्तिपछि देशको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओली जस्ता जनयुद्धविरोधीको हातमा पुग्नु विडम्वनापूर्ण रहेको बताएका छन् ।
राजतन्त्रलाई अन्त्य गरेर देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न क्रान्तिकारी जनयुद्धको नेतृत्व गर्दै आइरहेको माओवादी र नेपाल सरकार वीच वृहत शान्ति–सम्झौताको (२०६३ मंसीर ५ गते) १४ बर्ष पूरा भएको अवसरमा भट्टराईले सो कुरा बताएका हुन् ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले भनेका छन्, ‘नेपाली इतिहासलाई ९ रेक्टर स्केलको भूइँचालोले झैं हल्लाइदिने त्यत्रो विशाल क्रान्तिपछि देशको नेतृत्व ओली जस्ता जनयुद्धविरोधीको हातमा पुग्नु र शान्ति–सम्झौतामा भएका आर्थिक–सामाजिक रूपान्तरणका काम सम्पन्न हुन नसक्नु विडम्वनापूर्ण !’
उनले सत्यनिरूपण तथा मेलमिलाप आयोग र वेपत्ता सम्बन्धी आयोगका काम अहिलेसम्म पूरा हुन नसक्नु खेदजनक रहेको समेत बताएका छन् ।
उनले प्रश्न गर्दै अगाडि भनेका छन्, ‘अब फेरि २०५२ साल यताका जनयुद्ध, जनआन्दोलन, मधेस जनविद्रोह/आन्दोलन, जनजाति आन्दोलन, थरूहट/थारूवान आन्दोलनलगायतका क्रान्तिकारी शक्तिहरूको वृहद ध्रुवीकरण गरेर देशलाई अग्रगमन र समृद्धिको दिशामा लैजाने आँट गर्ने हो कि ?’
सम्बन्धित समाचारः
विस्तृत शान्ति सम्झौता भएको १४ वर्ष पुग्यो, द्वन्द्वपीडितका घाउ आलै
दस्तावेजः के थियो बिस्तृत शान्ति सम्झौतामा ? (पूर्णपाठ)