नलगाड जलविद्युत् आयोजनाको डीपीआर सक्न ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन (अनन्त)ले नगलाड जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम तत्काल सम्पन्न गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । जाजरकोटमा आयोजनास्थल रहेको कुल ४१७ मेगावाट क्षमताको जलाशययुक्त सो आयोजनाको डिपिआरको तयारीमा नै लामो समय लागेको गुनासो आएपछि मन्त्री पुनले उक्त निर्देशन दिएका हुन् ।

जाजरकोटबाट प्रतिनिधिसभा सदस्यसमेत रहेका वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, ऊर्जा मन्त्रालयका सहसचिव प्रवीणराज अर्याल र नलगाड हाइड्रोपावर कम्पनीका अध्यक्ष मोहनराज पन्त र कार्यकारी अधिकृत रामगोपाल लगेजु सहभागी आजको छलफलमा मन्त्री पुनले तत्काल डीपीआर सक्न निर्देशन दिएका हुन् ।

याे पनि पढ्नुस  नेपालको नवीकरणीय ऊर्जामा सहयोग गर्न मन्त्री पुनको आग्रह

चार वर्षभन्दा लामो समयदेखि डीपीआरको काम जारी रहे पनि अझै पूरा हुनसकेको छैन । परामर्शदाता कम्पनी एमडब्लुएच कन्सलटेन्टले डिपिआर ३२ महिनाभित्र सक्ने गरी कम्पनीसँग सम्झौता गरेको थियो । त्यसयता पटकपटक म्याद थप हुँदै आएको छ । मन्त्री पुनले कर्णाली प्रदेशको मुहार फेर्ने आयोजना भएकाले डिपिआरको काम तत्काल सकेर आयोजना निर्माण थाल्नुपर्नेमा जोड दिए ।

याे पनि पढ्नुस  ऊर्जामन्त्री पुन र ओमानका सुल्तान हाइतमबीच भेट

नलगाड आयोजना क्षेत्रीय ऊर्जा सन्तुलन कायम गर्न तथा कर्णालीको विकासमा कोसेढुङ्गा हुने मन्त्री पुनको भनाइ थियो । मन्त्री पुनले आयोजना निर्माणका लागि वैदेशिक लगानी जुटाउन सरकार प्रयासरत रहेको जानकारी पनि दिए । जापानी सहयोग नियोग (जाइका) ले नलगाडमा लगानीको इच्छा देखाएको भन्दै उनले विभिन्न चरणमा मन्त्रालय र जाइकाबीच लगानीबारे संवाद भइरहेको उल्लेख गरे ।

यस्तै, वन तथा वातावरणमन्त्री बस्नेतले जाजरकोट र समग्र कर्णालीको मुहार फेर्ने आयोजना निर्माणमा ढिलाइ हुन नहुने बताए । सम्बन्धित क्षेत्रको प्रतिनिधिसभा सदस्यको हैसियतमा आफूले आयोजना निर्माणको काम अघि बढाउन सङ्घ, प्रदेश, स्थानीय तह र स्थानीय प्रभावित क्षेत्रका जनताबीच समन्वयको काम गर्ने उल्लेख गरे ।

याे पनि पढ्नुस  विद्युतको समस्या तत्काल समाधान गर्न ऊर्जामन्त्रीले दिए कडा निर्देशन

यस्तै, कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले आयोजना निर्माणमा आवश्यक सबै प्रकारको समन्वय गर्न प्रदेश सरकार तयार रहेको प्रतिबद्धता जनाए ।छलफलमा कम्पनीका अध्यक्ष पन्तले परामर्शदातासँग समन्वय गरेर डीपीआरको काम तत्काल सक्ने जानकारी दिए ।

कमेन्ट गर्नुहोस्