पाण्डेमाथि अभद्र व्यवहार गर्नेलाई कडा कारबाही गर्न झलनाथ खनालको माग

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले स्थायी समिति सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेमाथि गरिएको अभद्र व्यवहार तथा नाराबाजी घटनाको भर्त्सना गरेका छन् ।

नेकपा राप्ती नगर कमिटीको बैठकमा पाण्डेले मन्तव्य राखिरहेको बेला अनाधिकृत रूपमा प्रवेश गरी गरिएको अभद्र व्यवहार तथा नाराबाजीको नेता खनालले घोर निन्दा तथा भर्त्सना गरेका हुन् ।

याे पनि पढ्नुस  नेकपा नेता सुरेन्द्र पाण्डेको प्रश्नः के ओलीबाहेक सबै नेता मूर्ख र बेबकुफ मात्र छन् ?

उनले उक्त घटना सुनियोजित रहेको पनि बताए । नेता खनालले पाण्डेमाथि दुर्व्यवहार गर्नेहरूलाई कारबाही गर्न सम्बन्धी कमिटीको ध्यानाकर्षण पनि गराए । उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘कम्युनिस्ट पार्टीको नैतिक मूल्य, आचरण तथा आदर्श विपरीत यस्तो आपत्तिजनक कार्यमा संलग्न व्यक्तिलाई तत्काल कडा भन्दा कडा कारबाही गर्न सम्बन्धित पार्टी कमिटीको ध्यानाकर्षणसमेत गराउँछु ।’

याे पनि पढ्नुस  सीमा सुरक्षा गर्न नसक्दा नेपाली भूमि अतिक्रमण भयोः पूर्वप्रधानमन्त्री खनाल

पार्टीमा आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला यस्ता घटनाहरूले स्थितिलाई झन् उत्तेजित बनाउनेतर्फ सचेत रहन पनि उनले नेता कार्यकर्तामा आग्रह गरे । खनालले पार्टीमा देखिएको समस्या समाधानको खोजी भइरहेको बेला सबैले संयमता अपनाउन पर्नेमा जोड दिए ।

कमेन्ट गर्नुहोस्