काठमाडौंः नेपालमा सोमबार थप १९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ हजार ७ जना कोरोना संक्रमित फेला परेका छन् । उपत्यकाको काठमाडौंमा ७ सय ७९, ललितपुरमा १ सय ४३ र भक्तपुरमा ८५ जना कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
कुल संक्रमितमध्ये २ लाख बढी निको भएका छन् । सोमबार ३०४३ जना निको भएसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको छ ।
नेपालमा पछिल्लो समय संक्रमितको तुलनामा निको हुनेको संख्या बढ्दै गएको छ । हाल १८ हजार ८८४ जना मात्रै सक्रिय संक्रमित छन् ।
मन्त्रालयका अनुसार सोमबार १६ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३३७ पुगेको छ ।
नेपालमा गत कार्तिक ५ गते सर्वाधिक ५,७४३ जना सङ्क्रमित फेला परेका थिए ।