यस्ता पो नेताः चौथौपल्ट फेरी सर्वाधिक मतले विजयी, तर अझै बस्छन् झुप्रोमा

गोकर्ण भट्ट

वडाध्यक्षले एक कार्यकालपछि घरघडेरीदेखि व्यापारमा शेयर पाइसकेका हुन्छन्, मेयर–सांसदले पनि करोड घटी कमाउँदैनन् । संघीय सांसद र मन्त्री बनेपछि त काठमाडौंमा घरघडेरी नजोडने को होलान र ?

छिमेकी देश भारतको बिहारका महबु आलमको कथा सुन्दा लाजै लाग्छ नेपालको कम्युनिष्ट आन्दोलनमा झांगिएको पूँजिवादी रुझानप्रति । झन त्यस्तो देश, जहाँ हालै बनेको सरकारका ५७ प्रतिशत मन्त्रीमाथि ‘गैर जमानती’ अपराधिक मुद्दा दर्ता छन् ।

यही बिहारमा बस्छन् महबूब आलम । पेशा हो जनताको सेवा, पार्टी सिपिआई (एमएल) ।

अचम्म के छ भने महबूब आलमको लोकप्रियता यस्तो छ कि यसपाली पनि उनी सबैभन्दा बढी मतले विजयी बने । सांसद बनेको खुशियाली भने उनले आफ्नै प्रिय छाप्रोमा मनाए ।
पत्याउन गारो पर्छ, उनी चारपटक सांसद बनेका छन् तर अहिलेसम्म न गाडी छ, न त पक्की घर नै ।

भन्छन्, ‘लाखौं जनता झुप्रोमा चिसोले कठ्यांग्रिएको बेला म उनीहरुकै मुक्तिको कुरा गर्ने कसरी पक्की घरमा सुत्नु ?’

यही करोडको खेलले निर्वाचन जितेपछि त्यही करोड कमाउन र दिएको करोड असुल्न लागिपर्छन् दलाल पूँजिवादीहरु । अनि नेताहरु मनमा क्रान्तिका जप्दै कस्सिँदै जान्छन्, थिचिँदै जान्छन् र स्खलनको श्रृंखला शुरु हुन्छ ।

कुनै बेला नेपालका कम्युनिष्टहरु पनि यस्तै कुरा गर्थे । वर्गमुक्तिका कुरा, सर्वाहारा वर्गका कुरा । तर शहर पसेसँगै उनीहरुको सर्वाहाराकरणको कुरा हरायो । गाडी थपिए । हिजो स–साना चिया होटलमा भेटिने नेताहरु अब भने दरबारमार्ग र अन्य हाइ प्रोफाइल होटलमा मात्रै भेटघाट गर्न थाले ।

बिस्तारै एउटा तह सिर्जना गरे नेपालका कम्युनिष्टहरुले । कुरा भने उनीहरुले सर्वाहारा गरीब मजदूरकै गरे । तर खेत जोत्नदेखि घरमा काम गर्नसम्म उनीहरुले अरु मान्छे राखे । गाडी बिना नहिंडने भए । र, यसलाई उनीहरुले माक्र्सवादको सिर्जनात्मक प्रयोग भने ।

एउटा यस्तो प्रयोग जुन माक्र्सवादको आत्मामा नै चोट थियो । सिर्जनात्मकता सम्पत्तिमा खोजियो, चिन्तन र संघर्षमा होइन ।

कुरा गरौं महबूब आलमको ।

यसअघि आलमको पार्टी भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी लेनिनवादी) अर्थात् सिपिआई एमएलले तीन सीटमा जितेको थियो । तर आलमहरुको राजनीतिक निष्ठा भनौं या स्खलन नभएको परिणाम, अहिलेको निर्वाचनमा भने उनीहरुले नौ सीट जिते ।

‘जनताका नेता’ भनेर चिनिन्छन् महबुब आलम । उम्मेद्वारी दिनुअघि उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उनको कुल सम्पत्ति एक लाख देखिन्छ । त्यो पनि नगद पैसा, बैंकको पैसा र अरु चलअचल सम्पत्ति जोडेर

सांसद भनेपछि नेपालभन्दा बढी महत्व दिइन्छ भारतमा । वरिपरि गाडी, हतियार, दर्जनबढी कार्यकर्ता पछाडि । प्रहरीदेखि प्रशासनसम्म थर्कमान ।

तर महबुब भने ढुक्कसँग आठा सौ वर्गफूटको एउटा सामान्य झुप्रोमा जीवन बिताउँछन् ।

तर आलमको जीवन त्यति सहज भने छैन । उनीसँग पैसा छैन, अरुजस्तो चमकदमक छैन । आम मान्छेका लागि संघर्ष झनै कठिन कुरा । उनीमाथि कैयनपटक आक्रमण भयो । झुट्ठा

मुद्दा त कति हुन कति ।

तर आलम भने आफूमाथिका सबै आरोप खारिज गर्दछन् । बिबिसीसँगको एउटा अन्तर्वार्तामा उनी भन्छन्, “यी सबै आधारहीन मुद्दा हुन । मलाई फसाउन खोजिएको हो । जनताले यो कुरा बुझेका छन् । त्यसैले म जितिरहेको छु ।”

एकजना माक्र्सवादी हुनु आफैमा एउटा जीवनपद्दती भएको उनी बताउँछन् । पार्टी भन्दा पहिला माक्र्सवादी जीवन पद्धती जरुरी हुने उनको ठहर छ । कम्युनिष्ट दर्शन अँगालिसकेपछि जीवन के का लागि, कसका लागि र कसरी भन्ने कुरा व्यक्तिमा निर्भर हुने बताउँदै उनी भन्छन्, “म एउटा माक्र्सवादी हो । र, मैले सिँगो जीवन वर्ग संघर्षमा होमेको छु । हो, म विधायक छु । तरपनि मसँग पक्की घर छैन । यसले केही फरक पार्दैन । यो देशमा हजारौं लाखौं मानिससँग पक्की घर छैन । हाम्रो संघर्ष ती मानिसहरुका लागि हो न कि आफ्ना लागि”

खर्चिलो संसदीय निर्वाचन । नेपालमा एउटा स्थानीय तहमा निर्वाचन लडन पनि करोड बढी खर्च नभएको सुनाउँछन् जितेका या हारेका उम्मेदवारहरु । अझ संसदीय निर्वाचनमा त करोड दुई करोड त सामान्य नै हो ।

यही करोडको खेलले निर्वाचन जितेपछि त्यही करोड कमाउन र दिएको करोड असुल्न लागिपर्छन् दलाल पूँजिवादीहरु । अनि नेताहरु मनमा क्रान्तिका जप्दै कस्सिँदै जान्छन्, थिचिँदै जान्छन् र स्खलनको श्रृंखला शुरु हुन्छ ।

आलमले कति खर्च गरे होलान् त ?

अचम्म नै मान्नु पर्छ । उनको कूल सम्पत्ति नै एक लाख मात्र छ । पार्टीले दिने कुरा भएन । न त उनलाई पूँजिपतिहरुले नै चन्दा दिन्छन् । र, पनि जनताको मायाले उनी जित्छन् । अर्थात्, निर्वाचनमा हुने परिचालनको खर्च जनताले व्यहोर्छन । कार्यकर्ताले बेहोर्छन् । एउटा साँचो समर्पण ।

आफूले चुनाव नै नलडेको बताँछन् महबुब । भन्छन्, “म चुनाव नै लडदिन नि । म त आफ्नो वर्गका लागि प्रतिक मात्रै बन्छु । मेरो चुनाव त यहाँका जनताले पो लड्छन्, त्यसैले मलाई पैसा चाहिँदैन ।” उनी अगाडि थप्छन्, “चुनाव प्रचारको कुरा गर्नुहुन्छ भने मलाई मनोनयनदेखि मतदानको दिनसम्म प्रचारको आवश्यकता नै पर्दैन । म त २४ घण्टा जनतासँगै हुन्छु । त्यसैले मलाई अन्तिम समयमा जनतामाझ जानुपर्ने आवश्यकता हुँदैन ।”

महबूब सन् १९८५ मा भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी)बाट निर्वाचनमा लडेका थिए । पहिलो निर्वाचनमा भने उनी मुख्य प्रतिष्पर्धी बनेपनि जित्न सकेनन् ।
माकपाको बंगालमा सत्ता थियो । तर माकपाका नीतिहरुलाई लिएर भने महबूबको असन्तुष्टि चुलिँदै गयो । उनले केही समयपछि माकपा परित्याग गरेर भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी–लेनिनवादी) मा प्रवेश गरे ।

लिबरेसन ग्रुपका नामले चिनिएको भाकपा (माले) नयाँ जनवादी क्रान्तिलाई मान्दै आएको कम्युनिष्ट पार्टी हो । नक्सलवादी आन्दोलनको एउटा चिराका रुपमा विनोद मिश्रहरुले यसलाई जीवन दिएका थिए ।

लगत्तै उनी सन् १९९० मा फेरी भाकपा (माले)बाट निर्वाचन लडे । अघिल्लो पटक भन्दा झन बढी भोट ल्याए तर पनि जित्न सकेनन् ।

सन् १९९५ मा निर्वाचनको ६ महिना अघि एउटा दुर्घटना घट्यो । सामन्तीहरुले एउटा दलित बस्तीमा हमला गरेर एउटा तलाउमा कब्जा गर्न खोजे । यो घटनामा दुईजनाको मृत्यु भयो ।
महबुबले दलितहरुको पक्षधरता लिएका कारण उनीमाथि हत्याको अभियोग लगाइयो ।

उनी जेल जानुपर्यो । तर जेलबाटै उनले निर्वाचन लडने कोशीस गरेपनि उनको मनोनयन भने षडयन्त्रपूर्वक ढंगले खारेज गरियो ।

दूई वर्षपछि जमानत पाए उनले । तर जेलबाट बाहिर आउँदासम्म उनीविरुद्ध दर्जनौं मुद्दाहरु दर्ता भइसकेका थिए । त्यसैले उनी भूमिगत हुनुपर्यो ।

तर भूमिगत भएरै पनि उनले सन् २००० को निर्वाचन जिते ।

सन् २००५ मा दुईपटक विधानसभा निर्वाचन भयो । पहिलोपटकको निर्वाचनमा उनी विजयी भए । तर दोश्रोचोटी उनलाई गिरफ्तार गरिने षडयन्त्र गरियो । उनले मनोनयन दिन पाएनन र उनको ठाउँमा उनका भाईलाई पार्टीले अघि सार्यो । भाई जिते ।

तर महबुबका अनुसार, विधायकको रुपमा भाईले राम्रोसँग काम गर्न नसकेपछि सन् २०१० को निर्वाचन उनीहरु हारे ।

जनताका सुखदुखमा साथ दिन छोडेनन् महबूबले । अन्ततः सन् २०१५ मा अत्यधिक मतले उनी विजयी भए । र, २०२० को निर्वाचनमा पनि सबैभन्दा बढी मतान्तरले जित्ने रेकर्ड उनले कायम गरे ।

हाकाहाकी बोल्ने महबुबलाई कतिपयले नक्सलवादी अर्थात् माओवादी पनि भन्छन् । तर महबुब भने माओवादी हिंसात्मक बाटोमा विश्वास गर्दैनन् । शान्तिपूर्ण वर्गसंघर्ष नै अहिलेको कार्यनीति भएको उनको विश्वास गर्छ । तर जनताका मुद्दा उठाउँदा नक्सलवादी भनेकोमा भने उनको आपत्ती छैन ।

भन्छन्, “बिहारको २१ लाख एकड जमिन यहाँका भूमिहीनलाई बाँडनुपर्ने कुरा मैले गर्छु, के म नक्सली हो ? यो कुरामा सामन्तीहरु पो खुसी नहोलान तर हामी त जनताको सुरक्षा र जनताको रोटीमा बाँचेका छौं नि ? हामीले यो कुरा किन नउठाउने ?”

भाकपा मालेमा महबूब मात्रै अब एक्ला छैनन् । उनको राजनीतिक बिरासत समात्ने अन्य कैयन नेताहरु यसपटकको निर्वाचनमा देखिए ।

यी मध्ये जवाहरलाल नेहरु विश्वविद्यालयका पूर्व छात्र नेता सन्दीप सौरभ र बिहारका पूर्व छात्र नेता अजीत कुशवाहा विशेष चर्चामा छन् ।

उनीहरु दुबै भाकपा मालेबाट निर्वाचित भएका छन् । स्वच्छ छवि र वैचारिक स्पष्टता उनीहरुको पहिचान छ ।

सन्दीपले पटनाको पालिजन्जबाट निर्वाचन जितेका छन् ।

बिबिसीमा प्रकाशित एक रिपोर्ट अनुसार, मतदानको अर्कोदिन उनी मौर्या लोक कम्प्लेक्समा केही युवाहरुसँग ठेलामा चिया खाँदै गरेको भेटिए । “हामी यही वर्गका मानिस हौं, यही ठेलाको चिया खाने वर्गका मान्छे । हामी सांसद या मन्त्री जे भएपनि हाम्रो वर्ग यही हो ।” सन्दीपले भनेको उल्लेख छ, “यहीँबाट शुरु गरेपछि यहीं नफर्किने हो भने के को कम्युनिष्ट ?”
लोभ लाग्छ कहिलेकाहिँ यस्ता कुरा पढ्दा । हामीकहाँ पनि यस्तो भइदिएको भए…। यो सोच नआउने होइन ।

तर हामी एकअर्थमा गैर राजनीतिक चरित्रले यति गाँजिएका छौं कि यी कुराहरु कता कता कुन लोकका लाग्छन् । तर सम्भव नभएको होइन, कम्युनिष्ट चिन्तन, संस्कृति र जीवनपद्धतीलाई विकास गर्न गा¥हो भने पक्कै छैन ।

कमेन्ट गर्नुहोस्