काठमाडौं : विभिन्न सरकारी कार्यालयहरूमा एक/दुई जना कर्मचारीमा कोरोना संक्रमण देखिनेबित्तिकै सम्पूर्ण सेवा बन्द गर्ने प्रवृत्ति बढेकाले त्यस्तो नगर्न कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले निर्देशन दिएको छ । मंगलबार बसेको सीसीएमसी निर्देशक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
संक्रमित व्यक्तिहरूलाई आइसोलेसनमा राखेर सेवा नियमित गर्न निर्देशन दिइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बताए ।
त्यस्तै, आज बैठकमा संक्रमण उच्च रहेका र कम हुँदै गएका स्थानमा के कस्ता सेवा सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा संक्रमणको जोखिम बढ्दै गएको भन्दै उपत्यका मेयर फोरमले कडा निषेधाज्ञा गर्न सिफारिस गरेको थियो । यद्यपि सीसीएमसीले तत्काल निषेधाज्ञा गर्ने विषयमा भने कुनै निर्णय गरेको छैन् ।
IPS connect
संक्रमणको उच्च रहेको सीमित स्थानलाई सिल गरी सेवा सञ्चालनका सम्बन्धमा केही निर्णय गर्न सकिने गरी छलफल भएको सचिव गुरागाईंले बताए । उपत्यकामा रहेको एकीकृत एम्बुलेन्स सेवाको पर्किङ समस्या रहेकाले विभिन्न स्थानीय तहमा पार्किङका लागि व्यवस्थापन गर्ने निर्णय भएको छ ।