कतार दूतावासको स्पष्टिकरणः प्रहरी भर्नामा संलग्नता छैन, म्यानपावर कम्पनीमा भेटिएको थियो दूतावासको गाडी

काठमाडौं । सरकारको अनुमति बिना कतार प्रहरीमा भर्ना भएको विषयमा दूतावासले अनभिज्ञता प्रकट गरेको छ ।
अनाधिकृतरुपमा प्रहरी छनौटका लागि अन्तर्वार्ता लिएको पाइएपछि हिजो केही म्यानपावर कम्पनीमा छापा हानिएको थियो ।
सोही घटनाका विषयमा कतार दूतावासले प्रष्टिकरण दिँदै कतार पुलिसको कुनै पनि छनौट प्रक्रियामा राजदूतावासको कुनै किसिमको संलग्नता नरहेको स्पष्ट पारेको हो ।
विज्ञप्तिमा लेखिएको छ, ‘नेपालबाट कतारमा आवश्यक पुलिसमा भर्ती गराउन डिमाण्ड गर्ने केही म्यानपावर कम्पनीले कस्तो तालिम उपलब्ध गराइरहेका छन्, ती म्यानपावर कम्पनीमा कस्ताकस्ता प्रविधि उपलब्ध छन् र कतार पुलिसका लागि साँच्चिकै फिजिकल्ली र मेन्टल्ली फिट हुन सक्छन् सक्दैनन् भनेर म्यानपावर कम्पनीको सामान्य चेकजाँचको लागि आएको कतारी नागरिकको टोलीलाई राज्यको जिम्मेवार निकाय राजदूतावासले सवारी साधन उपलब्ध मात्र गराएको हो, कतार पुलिसको कुनै पनि छनौट प्रक्रियामा राजदूतावासको कुनै किसिमको संलग्नता छैन ।’

लाजिम्पाटस्थित होप इन्टरनेशनल म्यानपावर कम्पनी परिसरमा ४५–सीडी–००९ नम्बरको विदेशी कूटनीतिक नियोगको गाडी फेला परेको थियो ।
विभागका अनुसार सो गाडी कतारको नेपालस्थित दूतावासको हो ।

नियमअनुसार म्यानपावर कम्पनीले श्रमिकको मागपत्र विदेशस्थित दूतावासबाट प्रमाणीकरण गराएर वैदेशिक रोजगार विभागबाट पूर्वश्रमस्वीकृति लिनुपर्छ । र, तय भएको अन्तरवार्ताको मिति विभागलाई जानकारी गराउनुपर्छ ।
अन्तरवार्ताबाट छनोट भएका कामदारको अन्तिम श्रम स्वीकृति विभागबाट जारी हुन्छ । तर, अहिले काठमाडौंमा विभिन्न म्यानपावरले ठगी गर्ने गरी पूर्वस्वीकृति नभएको श्रमिकको मागपत्रमा आधारित भएर अन्तरवार्ता चलाइरहेको पुष्टि भएको छ ।

कमेन्ट गर्नुहोस्