कठमाडौं : एकै दिन तीन खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाल क्रिकेट संघ (क्यान)ले पाँच खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ ।
आज कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी र रोहितकुमार पौडेललाई कोरोना पुष्टि भएपछि क्यानले पाँच खेलाडीलाई प्रशिक्षणका लागि बोलाएको हो ।
क्यानले बोलाएकोमा लोकेश बम, अनिल शाह, बिक्रम सोब, रित गौतम, कुशल भुर्तेल रहेका छन् । केही दिनअघि क्यानले बन्द प्रशिक्षणका लागि यी पाँच खेलाडीलाई बोलाएको थिएन ।
यसअघि क्यानले २२ खेलाडीलाई प्रशिक्षणका लागि बोलाएको थियो । मंगलबार पीसीआर गरिएका खेलाडीको नतिजा आउन ढिलाई भएकाले आजदेखि सुरु हुने भनिएको बन्द प्रशिक्षण रोकिएको छ । अब बाँकी खेलाडीको पीसीआर रिपोर्ट आएपछि प्रशिक्षण सुरु गरिने क्यानले जनाएको छ ।