सरकार र निजी क्षेत्रको प्रयासबाट मात्रै आर्थिक वृद्धिः प्रधानमन्त्री ओली

काठमाडौंः नेपालको निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको ५४ औंँ वार्षिक साधारणसभा आजदेखि शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले महासङ्घको वार्षिक साधारणसभाको उद्घाटन गरे ।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारका तीन वटै तह र महासङ्घका पनि सोहीअनुसारका तहको संंयुक्त प्रयासबाट मात्रै कोरोनाको महामारीसँग जुध्दै आर्थिक विकासमा केन्द्रित हुन सकिने सकिने बताए । सरकार कोरोनाका कारण परेको असरलाई पराजित गरेर अर्थतन्त्र माथि उठाउन लागिपरेको जनाउँदै प्रधानमन्त्रीले सबैको साझा प्रयास तथा सहकार्यबाट मात्रै अगाडि बढ्न सकिने बताए ।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओलीले कोरोना भाइरसका सम्बन्धमा राष्ट्रका नाममा गरेकाे सम्बोधन (पूर्णपाठसहित)

गत आर्थिक वर्षमा ८.५ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएकामा कोरोनाका कारण न्यून मात्रै वृद्धि भएको जनाउँदै उनले सरकार र निजी क्षेत्रको सामूहिक प्रयासबाट मात्रै आर्थिक वृद्धि हुन सक्ने बताए । प्रधानमन्त्रीले सरकारको क्षमतानुसार नै सबैलाई समान रुपमा सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्दै भने, ‘अभिभावकको क्षमताअनुसार नै माग गर्न म सबैलाई आग्रह गर्दछु । नेपाल सरकारले गच्छेअनुसार वा एक कदम अगाडि बढेर सहयोगको हात बढाउनेछ । फेरि पनि त्यो सीमित नै हुनेछ किनकि हामीसँग बचत राम्रो छैन ।’

देशको अर्थतन्त्रलाई माथि उठाउन निजी क्षेत्रले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै प्रधानमन्त्रीले व्यापार, व्यवसाय र वाणिज्यका क्षेत्रमा देखाइएको भूमिका सराहनीय रहेको बताए । सरकारले भन्दा बढी निजी क्षेत्रले मौका पाएपछि सिर्जनात्मक काम गर्न, नयाँनयाँ व्यवसाय अगाडि बढाउन तथा कारोवारका नयाँ क्षेत्र पत्ता लगाउने काममा अग्रसर रहेकामा प्रधानमन्त्रीले प्रसन्नता व्यक्त गरे ।

याे पनि पढ्नुस  ‘ओली र प्रचण्डले बुढीगण्डकीमा घुस लिएको प्रमाण देऊ, नत्र क्षमायाचना माग’

प्रधानमन्त्रीले समृद्धि हासिल गर्नका लागि उद्योगसँगसँगै कृषि क्षेत्रलाई पनि आधुनिकीकरण, व्यवसायीकरण र औद्यागिकीकरण गर्नु जरुरी रहेको जनाउँदै त्यस क्षेत्रमा लगानी गर्न उद्योगी व्यवसायीलाई आग्रह गरे ।

कृषि क्षेत्रमा रोजगारीका अवसर सिर्जना गर्न, प्रविधिको प्रयोग गर्न तथा उत्पादकत्वर उत्पादन वृद्धि गर्दै थप विश्वास पैदा गरेर अगाडि बढ्न निजी क्षेत्रले साथ दिनुपर्ने उनले बताए । कृषि क्षेत्रमा रोजगारी सिर्जना गर्न र उत्पादकत्व वृद्धि गर्ने विषयमा निजी क्षेत्रको ध्यान जाने तथा विज्ञान र प्रविधिको प्रयोग गर्दै आधुनिकीकरणको दिशा पहिल्याउने काममा सचेत तथा सङ्गठित प्रयास हुनेमा आफू आशावादी रहेको उनले स्पष्ट पारे ।

याे पनि पढ्नुस  अमेरिकाले चीनसँग सुपुर्दगी सन्धि नगर्न दबाब दिएको खुलासा

सरकारले सबैलाई कानूनबमोजिम नै व्यवहार गर्ने र सबैलाई यथोचित ढङ्गले सुरक्षा एवम् संरक्षण प्रदान गर्ने विश्वास दिलाउँदै उनले कारोवार तथा व्यवसायमा स्वच्छ र पारदर्शिता भने जरुरी रहेको बताए ।

कमेन्ट गर्नुहोस्