नयाँ दिल्ली । सरकारद्वारा जारी किसान ऐनका विरुद्ध दिल्लीमा प्रदर्शन गर्न हजारौं किसानहरु हरियाणाको सीमामा आइपुगेका छन् ।
किसानहरुलाई दिल्ली प्रवेश गर्न नदिन हरियाणाका कैयन स्थानमा सुरक्षाकर्मीले रोक्न खोजेपनि किसानहरुले त्यसको पर्वाह नगरी अघि बढेका छन् ।
“पुलिसको बारकेड होस् कि गोली, हामी दिल्ली पुगेरै छोडने अठोटका साथ अघि बढेका छौं ।” एक किसान भन्छन्, “हामी ६ महिनाको राशन बोकेर परिवारसँगै हिँडेका छौं । जहाँ प्रहरीले रोक्छ, त्यहीँ धर्ना दिन्छौं र फेरि अघि बढछौं ।”
उनीहरु बिभिन्न नाकाबाट दिल्ली आइरहेका छन् ।
अमरउजाला दैनिकका अनुसार, पानीपतदेखि दिल्लीतर्फ बढिरहेका किसानहरुले आज बिहान खाना खाएर अघि बढेका छन् ।
दिल्लीको गुरुग्राम सीमामा बाहनहरुको सघन चेकिङका कारण लामो जाम लागेको छ ।
किसानहरुको आन्दोलन रोक्न केन्द्रीय औद्यौगिक बल समेत तैनाथ गरिएको छ । प्रहरीले हरेक बाहनको चेकजाँच गरिरहेको छ ।
यसैगरी रोहटक झज्जर सीमा पनि किसानहरु जमा भएर दिल्लीतर्फ अघि बढिरहेका छन् ।
सिन्धु सीमामा ठूलो मात्रामा सुरक्षाकर्मी तैनाथ गरिएका छन् । इस्टर्न पेरिफेरल एक्सप्रेस वे र वेष्टर्न एक्सप्रेस वे बाट गाडीहरुलाई सिन्धु सीमा नजिक आउन रोकिएको छ । त्यहाँ आज पनि किसानहरुमाथि सुरक्षाकर्मीहरुले अश्रुग्याँस प्रहार गरेका छन् ।
हिजो साँझ दिल्लीदेखि १ सय किमी टाढा पानीपत टोल प्लाजासम्म किसानहरु आइपुगेका थिए । भारतीय किसान यूनियन हरियाणाका नेता गुरनाम सिंहका अनुसार उनीहरु राती त्यही बसेर बिहानै खानापछि दिल्ली गइरहेका हुन । यसअघि हिजो कुरुक्षेत्र, सिरसा, फतेहाबाद र जिन्द जिल्लामा ठूलो झडप भएको थियो ।
किसानहरुले भने कुनै पनि मूल्यमा कानुन खारेजीको माग गरेका छन् । यसअघि विधेयककै रुपमा सदनमा प्रस्तुत गर्दा अकाली दलले सरकारबाट समर्थन फिर्ता लिएको थियो भने उक्त दलका मन्त्रीले राजिनामा दिएका थिए ।
अहिले ल्याइएको किसान ऐन (४ वटा) किसानको अधिकारविरुद्ध कृषि क्षेत्रलाई कर्पोरेटहरुको चंगुलमा पार्ने षडयन्त्र भन्दै पञ्जाब हरियाणालगायतका किसानहरुले बिरोध गर्दै आएका छन् ।