काठमाडौंः नेकपा विवाद चर्किएका बेला गत कात्तिक २८ गते बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले छुट्टै राजनीतिक प्रस्ताव पेस गरे ।
त्यसपछि मंसिर ३ गते बसेको सचिवालय बैठकमै प्रधानमन्त्री समेत रहेको नेकपा अध्यक्ष केपी शर्मा ओलीले छुट्टै प्रस्ताव पेस गर्ने बताए । उनले त्यसका लागि १० दिनको समय माग गरे । जसअनुसार १० दिनको समय शुक्रबार सकिँदैन ।
अब शनिबार नेकपा सचिवालय बैठक बस्दैछ । ओलीले बैठकमा पेस गर्ने भनिएको प्रस्तावमा प्रचण्डलाई हेग पुर्याउनेलगायतका कुरा उल्लेख गरिएको भनेर केही मिडियाहरूमा समाचार आएका छन् । प्रचण्डलाई तर्साउन ति समाचारहरू ओली पक्षले मिडियामा चुहाएको देन्खिन्छ । तर, प्रचण्डले भने एक वर्षअघि नै हेगका बारेमा कडा प्रतिवाद गर्दै भनेका थिए, ‘मलाई हेगको धम्की नदिए हुन्छ ।’
ओलीले पूर्व माओवादीसँग जोडेर उक्त कुरा राजनीतिक प्रस्तावमा ल्याउन खोजेको भन्दै केही मिडियाले उल्लेख गरेपछि यो विषय फेरि चर्केको हो । तर पुर्व माओवादी भने हेगको विषय अनावश्यक भएको बताउँदै आएका छन् ।
नेकपा विप्लव समूह छाडेर आएका नेता कार्यकर्तालाई २०७६ साउनमा पार्टी प्रवेश गराउँदै प्रचण्डले समेत यो विषयलाई गम्भीररुपमा उठाएका थिए ।
सो क्रममा प्रचण्डले भनेका थिए, ‘कतिपयले ‘प्रचण्डलाई हेगमा लैजाने रे’, ‘एक दिन भए पनि जेलमा हाल्ने रे’ भनेर प्रचार गरिएको छ । हेग लगे भने त म झन् विश्वकै हिरो भएर निक्लिन्छु । हेग पुर्याए संसारका जनताले मलाई यो त न्यायको पक्षमा रहेछ, शान्तिको पक्षमा रहेछ भनेर बुझ्छन् । त्यो मेरा लागि गर्वको कुरा हुन्छ । तर यिनीहरुले मलाई हेग लैजान्छन् र विश्वको हिरो बनाउँछन् भन्ने लाग्दैन ।’
भिडियो स्रोतः अनलाइन खबर
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्ः