काठमाडौंः नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनअन्तर्गत मतदान जारी छ ।
चुनावका लागि तीन ठाउँमा मतदान केन्द्र तोकिएको छ । जिल्ला नगरतर्फका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा, एसोसिएटतर्फका लागि कार्की ब्याङ्केट थापाथलीमा र वस्तुगततर्फको लागि महासंघको केन्द्रीय कार्यालयमा मतदान भइरहेको छ ।
यस्तै कोरोना संक्रमित मतदाताहरुका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदानको व्यवस्था मिलाइएको छ । निर्वाचन बिहान ८ बजेदेखि जारी छ । आज राति नै मतगणना सम्पन्न गर्ने गरी तयारी गरिएको छ ।
महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुन पाउने व्यवस्था भएअनुसार हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्दैछन् । बाँकी पदहरुका लागि मतदान भइरहेको हो ।
महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षद्वय किशोर प्रधान र चन्द्रप्रसाद ढकाल चुनावी मैदानमा प्यानलसहित उत्रिएका छन् । महासंघको नयाँ नेतृत्वका पुग्नका लागि एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ६० कार्यकारिणी सदस्यका लागि १ सय २७ जना चुनावी मैदानमा छन् । निर्वाचन समितिले दुई सदस्य निर्विरोध भएको घोषणा गरिसकेको छ ।