झापा : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद देखा पर्दा लोकतान्त्रिक गणतन्त्रको संविधान नरुचाउने भूतप्रेत सल्बलाउन थालेको बताएका छन् ।
झापाको विर्तामोडस्थित सिद्धार्थ होटल ग्रान्डसिटीको आज उद्घाटन उनले भने, ‘भूतप्रेतहरूले पोखरा र झापातिर कतै जुलुस निकालेको र कतै निकाल्न लागेको सुनिएको छ, नेकपामा तलमाथि भयो भने परिवर्तन र संविधान नचाहने शक्तिहरु हौसिन्छन् भन्ने यो उदाहरण हो ।’
मन्त्री भट्टराईले नेकपामा देखिएको विवाद चाँडै हल हुने र त्यसपछि सुपरफास्ट गतिमा पार्टी अघि बढ्ने बताउँदै पार्टीको सचिवालय बैठकले समस्या निकास दिन नसके स्थायी कमिटीको बैठकले सचिवालयका सबै प्रतिवेदन खारेज गरेर नयाँ निर्णय लिने बताए । उनले भने, ‘स्थायी कमिटी निर्णय गर्न र समस्याको हल निकाल्न सक्षम छ, त्यो निर्णय कसैले नसोचेको पनि हुनसक्छ ।’
नेकपा अहिलेको अप्ठेरो परिस्थितिबाट विभाजनलाई क्रमभङ्ग गर्दै अघि बढ्ने उल्लेख गर्दै उनले मुलुकमा विदेशी शक्ति, चरम दक्षिणपन्थी र चरम वामपन्थीको चलखेललाई विफल तुल्याइने दाबी गरे ।