चितवन : कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले पार्टीसँगको सम्बन्ध राम्रो नभए सरकारले जनअपेक्षाअनुसार काम गर्न नसक्ने बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनको अगुवा कार्यकर्तासँग उनले पार्टीभित्र भएको किचलोको कारण सरकारले काम गर्न नसकेको बताए ।
नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका मन्त्री भुसालले भने, ‘गत मङ्सिर ४ गते सचिवालय बैठकले पार्टीलाई अध्यक्ष प्रचण्डले नेतृत्व गर्ने र सरकार अध्यक्ष केपी शर्मा ओलीले पाँच वर्ष चलाउने भनेर मात्र म मन्त्री भएको हो । पार्टीभित्रको समस्या समाधान भयो भन्ने लागेर मन्त्री भएँ, तर अवस्था अहिले पनि उस्तै छ ।’
‘अहिलेको अवस्थाजस्तै पार्टी र सरकारबीचको किचलो रहेमा समाजवादतर्फ मुलुकलाई लैजान सक्दैनौँ,’ उनले भने । ‘पार्टी आफैँ राम्ररी सङ्गठित भएर त्यो पार्टीले निर्देशन गरेको दिशामा सरकार हिँडेन भने त्यसले समृद्धि र समाजवाद ल्याउन सक्दैन, कामचलाउ काम मात्र गर्दछ,’ मन्त्री भुसालको भनाइ थियो ।