काठमाडौं : पाहुला टोली भारतविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज अष्ट्रेलियाले जितेको छ ।
सिड्नीमा आइतबार भएको दोस्रो खेलमा भारतलाई ५१ रनले पराजित गर्दै घरेलु टिम अष्ट्रेलियाले एक खेल अगाबै सिरिज जितेको हो।
अष्ट्रेलियाले दिएको ३ सय ९० रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ३८ रन मात्र बनाउन सक्यो ।
भारतका लागि कप्तान विराट कोहलीले ८९ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीको हार टार्न सकेनन्। यस्तै केएल राहुलले ७६ रनको अर्धशतकीय पारी खेले।
श्रेयस अय्यरले ३८, शिखर धवन ३०, मायांक अग्रवाल र हार्दिक पाण्डयले २८–२८ रन बनाए। रविन्द्र जडेजाले २४ रन जोडे।
अष्ट्रेलियाका लागि पाट कुमिन्सले ३ विकेट लिए। जोस हाजलउड र एडम जाम्पाले २–२ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ८९ रन बनाएको थियो।
उसका लागि स्टिभ स्मिथले शतक बनाए । उनले ६४ बलमा ११ चौका र २ छक्कासहित १०४ रन बनाए । स्मिथको यो लगातार दोस्रो शतक हो ।
सिरिजको पहिलो खेलमा उनले १०८ रन बनाएका थिए । वानडे क्रिकेटमा भने स्मिथको यो ११ औँ शतक हो ।
त्यस्तै, आज डेविड वार्नरले ८३, कप्तान आरोन फिन्चले ६०, मार्नस लाबुशेनले ७०, ग्लेन म्याक्सवेलले नटआउट २९ बलमा ६३ रन बनाए।
बलिङमा हार्दिक पाण्ड्या, जसप्रीत बुमराह र मोहम्मद शामीले एक/एक विकेट लिए।
जितसँगै अष्ट्रेलियाले ३ खेलको सिरिजमा २-० को अग्रता समेत बनाएको छ। यसअघि शुक्रबार भएको पहिलो खेलमा अष्ट्रेलियाले भारतलाई ६६ रनले पराजित गरेको थियो।
यी दुई टिमबीचको अन्तिम तथा तेस्रो एकदिवसीय खेल बुधबार हुनेछ।