काठमाडौंः अष्ट्रेलियाका ओपनर ब्याट्सम्यान देविड वार्नर भारतविरुद्धको तेस्रो अन्तर्राष्ट्रिय एकदिवसीय खेलबाट बाहिरिएका छन् । उनी तीन म्याचको टी ट्वान्टी अन्तर्राष्ट्रियबाट समेत बाहिरिएका छन् ।
क्रिकेट अष्ट्रेलियाका अनुसार उनको स्थान डी आरसी शर्टलाई टोलीमा बोलाइएको छ । भारतविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा फिल्डिङको क्रममा उनको खुट्टाको मांसपेशीमा समस्या आएपछि खेलको बीचमै मैदान छोड्न बाध्य भएका थिए ।
पहिलो दुई खेलमा ६९ र ८३ रन बनाएका वार्नर उत्कृष्ट लयमा रहँदा घाइते भएपछि अष्ट्रेलियाका लागि चिन्ता बढेको छ । दुबै खेलमा अष्ट्रेलियाले उत्कृष्ट सुरुवात गरेपछि विशाल योगफल तयार गर्न सफल भई दुबै खेल जितेको छ ।
अष्ट्रेलियाका प्रमुख प्रशिक्षक जस्टिन लैंगरले भने वार्नरलाई पूर्ण आराम दिइएको बताए । अबको दुई सातामा निको हुने लक्ष्य लिएर भारतविरुद्धको पहिलो टेष्टका लागि उनलाई आराम दिइएको लैंगरले बताए ।
प्याट्ट क्युमिन्सलाई समेत आराम दिइएको छ । विश्ववरियताको शिर्ष स्थानमा रहेका क्युमिन्सलाई टेष्ट श्रृखंलाका लागि आराम दिइएको हो । अष्ट्रेलियाले डिसेम्बर तेस्रो साताको सुरुवातमा भारतविरुद्ध टेष्ट श्रृखंला खेल्नेछ ।