नमूना सङ्कलन सुस्त

धनगढीः सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोभिड–१९ का शङ्कास्पद व्यक्तिको नमूना सङ्कलन गर्ने काममा कमी आएको छ ।

गत एक हप्तामा प्रदेशका विभिन्न जिल्लाका कोरोनाका शङ्कास्पद दुई हजार ३५१ जनाको नमूनामात्र सङ्कलन हुन सकेको छ । नयाँ सङ्कलित नमूनासमेत गएको हप्तामा दुई हजार ३८८ नमूनाको परीक्षण हुँदा ३९२ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालयको तथ्याङ्क विश्लेषण गर्दा यो अवधिमा थप ३९२ जनामा सङ्क्रमण देखिँदा ४१३ जना उपचार व्यवस्थापनपछि घर फर्किएका छन् । अहिलेसम्म नौ हजार ४६० घरफर्किएका छन् । सङ्कलन भएका केही नमूनाको परीक्षण हुन बाँकी छ ।

याे पनि पढ्नुस  गड्डाचौकी नाकामा मुख्यमन्त्री भट्टको टोली, कोरोना संक्रमण रोकथामका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता

सेती प्रादेशिक अस्पताल धनगढी, कोभिड–१९ उपचार विभागका प्रमुख डा शेरबहादुर कमरले कोरोना भाइरसको सङ्क्रमण हुने दरमा कमी नआएको बताए । ‘जाडो मौसममा ‘भाइरल इम्फेक्सन’को जोखिम बढी हुने गर्दा कोरोनाको जस्तो लक्षण देखिने निमोनिया, रुघाखोकीका बिरामी बढ्दै गएको देखिएको छ’, उनले भने, ‘पछिल्ला दिनमा कोरोना भाइरसका जटिल अवस्थाका र सक्रिय सङ्क्रमित बिरामी भर्ना हुने दर पनि बढ्दो छ ।’

याे पनि पढ्नुस  नेपालमा यसरी सुरू भएको थियो कोरोना संक्रमण

स्वास्थ्य निर्देशनालय दीपायलका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले आवश्यक स्वास्थ्यकर्मीको अभाव हुँदा नमूना सङ्कलन गर्ने काममा कमी आएको जानकारी दिए । लक्षण देखिएका र यस्ता व्यक्तिको सम्पर्कमा आएका, अन्यत्र ठाउँबाट आएर क्वारेन्टिनमा बसेकाहरुको मात्र नमूना सङ्कलन गर्नुपर्ने पछिल्लो मापदण्ड बनेकाले पनि नमूना सङ्कलनमा कमी आएको हुन सक्ने उनले बताए ।

सङ्क्रमित भई होम आइसोलेसनमै मृत्यु हुने कतिपयको तथ्याङ्क भने मन्त्रालयसँग छैन । आजसम्म कैलालीमा १९, कञ्चनपुरमा पाँच, डडेल्धुरा र बझाङमा तीन÷तीन, अछाम, बाजुरा, दार्चुलामा दुई÷दुई र डोटी तथा बैतडीमा एक÷एक गरी जम्मा ३८ जनाको मृत्यु भएको छ ।

याे पनि पढ्नुस  हात धुने स्यानिटाइजर बनाउन सिकाउँदै नाष्ट

सेती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमणको जटिल अवस्थाका सात जनाको सघन उपचार कक्षमा र दुई जनाको भेन्टिलेटरमा उपचार व्यवस्थापन भइरहेको छ । तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाई सर्वसाधाणको चहलपहल बढ्दा कोरोना फैलिने जोखिम थप बढेको स्वास्थ्यकर्मीको भनाइ छ ।

कमेन्ट गर्नुहोस्