काठमाडौंः नेकपा सचिवालय बैठक १ घण्टा सरेको छ ।
बुधबार दिउँसो १ बजे बस्ने भनिएको बैठक २ बजेसम्मका लागि स्थगित भएको हो । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको व्यस्थताका कारण बैठक एक घण्टा सरेको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
यसअघि यसअघि ओलीले बुधबारको सचिवालय बैठकमा सहभागि नहुने बताएका थिए । तर, आफू निकट नेताहरुसँग भएको छलफलपछि ओली बैठकमा सहभागि हुन बाध्य भएका हुन् । बैठकमा सहभागि नहुँदा नराम्रो सन्देश जाने र कार्यकारी अध्यक्ष प्रचण्ड–माधव नेपाल समूहले बैठक गरेर छाड्ने देखेपछि ओली बैठकका लागि तयार भएका हुन् ।
बुधबारको बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डले पेश गरेका राजनीतिक प्रस्तावमाथि छलफल हुने कार्यसूची छ । प्रस्तावमाथि मंगलबार बसेको बैठकमा औपचारिक छलफल शुरू भएको थियो ।
गत कात्तिक २८ गते बसेको बैठकमा प्रचण्डले सचिवालयका अन्य ४ जना सदस्य माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ ‘प्रकाश’को सहमतिमा छुट्टै राजनीतिक प्रस्ताव प्रतिवेदन पेस गरेका थिए । त्यसपछि मंसिर १३ गते बसेको बैठकमा ओलीले प्रचण्डको जवाफी प्रतिवेदन पेस गरेका थिए ।
यसअघिको बैठकले १८ गते स्थायी कमिटी र २५ गते केन्द्रीय कमिटी बैठक बेलाउने निर्णय गरिसकेको छ ।