डोटीः जिल्ला अस्पताल डोटीको आइसोलेसनबाट फरार भएका बझाङको मस्टा गाउँपालिकाकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या गरेको आरोप लागेका राजेन्द्र बोहरा पक्राउ परेका छन् ।
पुर्पक्षका लागि बाल सुधार केन्द्र डोटीमा राखिएका उनमा मंसिर ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनलाई जिल्ला अस्पताल डोटीको आइसोलेसनमा राखिएको थियो ।
उनी आइसोलेसनबाटै बिहीबार राति भागेका थिए । भागेको १० घण्टापछि उनलाई डोटीको पुर्वीचौकी गाँउपालिका–१ बाट पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) मुकेशकुमार सिंहले जानकारी दिए ।
बोहराको सुरक्षामा खटिएका एकजना हवल्दार र दुईजना जवानलाई निलम्बन गरेर घटनाको छानविन गरिने प्रहरीले जनाएको छ ।