नेपालगञ्जः दाङका तीनजना कोरोना संक्रमितको बाँकेमा उपचारका क्रममा गएराति मृत्यु भएको छ । मृत्यु हुने सबै तुलसीपुर दाङका हुन् ।
भेरी अस्पतालमा दुईजना र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा एकजनाको मृत्यु भएको कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । गएराती ९ बजेदेखि १२ बजेको अन्तरालमा उनीहरुको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका संयोजक तथा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए ।
तुलसीपुर उपमहानगरपालिका–१६ का २६ वर्षीय युवकको गएराती १२ः१० बजे मृत्यु भएको थियोे । स्वास्थ्यमा समस्या भएपछि मंसिर १० गते भर्ना भएका थिए ।
यस्तै तुलसीपुर उपमहानगरपालिका–५ दाङका ८१ वर्षीय पुरुषको उपचारका क्रममा गएराती १०ः४५ बजे नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको थियोे । कोरोना पुष्टि भएपछि ती पुरुष मंसिर १३ गते अस्पताल भर्ना भएका थिए ।
यस्तै, तुलसीपुर उपमहानगरपालिका–११ दाङका ४५ वर्षीय पुरुषको उपचारका क्रममा भेरी अस्पतालमा गएराती ९ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । कोरोना पुष्टि भएपछि ती पुरुष मंसिर ४ गते अस्पताल भर्ना भएका थिए ।