छिमेकबाट भएका पछिल्ला नेपाल भ्रमण उपलब्धिमूलकः परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौंः परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले छिमेकी चीन र भारतबाट हालै भएका उच्चस्तरीय नेपाल भ्रमण उपलब्धिमूलक भएको बताएका छन् । प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा उनले दुवै देशबाट भएका भ्रमण द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउन र आपसी सहयोग अभिवृद्धि गर्न महत्वपूर्ण रहेको बताए ।

भारतीय विदेश सचिव हर्षबर्धन श्रृङ्गलाले यही मङ्सिर ११ र चीनका राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेले मङ्सिर १४ गते नेपालको औपचारिक भ्रमण गरेका थिए । भारतीय विदेश सचिव श्रृङ्गलाको भ्रमण कोभिड–१९ को सङ्क्रमणपछि नेपाल र भारतबीच रोकिएका द्विपक्षीय भ्रमणको शुरुआत भएको जनाउँदै मन्त्री ज्ञवालीले भ्रमणमा दुई देशबीचको सीमा समस्या औपचरिक कार्यसूचीमा समावेश गरिएको बताए ।

याे पनि पढ्नुस  संविधानको सीमा हरेफेर गर्ने बहस उचित छैनः परराष्ट्रमन्त्री ज्ञवाली

भारतले नेपालका भूभाग समेटेर नयाँ नक्शा जारी र लिपुलेक हुँदै मानसरोवर जोड्ने सडक उद्घाटन गरेपछि तथा नेपालले पनि आफ्ना भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटी हालसालै नयाँ नक्शा जारी गरेपछि दुवै देशबीचको सम्बन्धमा केही चिसोपना आएको थियो । नेपाल–भारत संयुक्त समितिको बैठक चाँडै हुने र दुवै देशबीचका थाती रहेका विषय सो बैठकमार्फत यथाशक्य समाधान गर्न पहल गरिने उनको भनाइ थियो ।

याे पनि पढ्नुस  नक्सा सच्याउन उपयुक्त माध्यमबाट पहल भएको छः परराष्ट्रमन्त्री ज्ञवाली

यसैगरी चीनका रक्षामन्त्री वेइको नेपाल भ्रमण सैनिक सहयोग आदानप्रदान गर्न र द्विपक्षीय सम्बन्ध थप सुदृढ गर्न महत्वपूर्ण भएको उनले बताए । मन्त्री ज्ञवालीले गत वर्ष चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका बेला भएका सम्झौतालाई गति दिन पनि सो भ्रमण फलदायी बताए ।

याे पनि पढ्नुस  विकास सहायतासँग बन्दुक जोडियर आउँदैनः परराष्ट्रमन्त्री ज्ञवाली

सांसदका जिज्ञासामा मन्त्री ज्ञवालीले भारतसँगको सीमा समस्या सामाधानका लागि विभिन्न तवरले पहल भइरहेको जानकारी दिँदै चीनसँग भने सीमा समस्या नभएको स्पष्ट पारे । उनले केही दिनभित्रै सरकारको परराष्ट्र नीति सार्वजनिक गर्ने पनि जानकारी दिए ।

मन्त्री ज्ञवालीले कोरोनाविरुद्धको खोप नेपालमा ल्याउने बारेमा सरकारले पहल गरिरहेको बताउँदै कोभ्याक्सअन्तर्गत २० प्रतिशत खोप सहुलियत दरमा आउने र बाँकी ल्याउन विभिन्न मित्र राष्ट्रसँग पत्राचार भइसकेको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्