चलचित्र समीक्षाः कस्तो छ त नाना पाटेकरको ‘इट्स माई लाईफ’

पुस्तान्तरको द्वन्द्व नयाँ विषय होइन । हाम्रो दैनिक जीवनमा समेत बा–आमाले छोराछोरीको भविष्य निर्धारण गर्दा आफ्ना इच्छा थोपर्ने गरेका हुन्छन् । यो विषयमा थुप्रै साहित्य र चलचित्र समेत बनेका छन् ।

यस्तै एउटा कथामा बनेको छ नयाँ चलचित्र– इट्स माई लाईफ

लामो समयदेखि निर्माणको क्रममा अडकियो यो चलचित्र । यसका हिरो अहिले चर्चामा छैनन् । हिरोइन जेनेलिया डिसुजा त सबै छोडेर गृहस्थीमा व्यस्त छिन् ।

तर चलचित्रको कथा हेर्दा लाग्छ, यो अलि छिटै रिलिज हुनुपर्ने थियो । किनभने गम्भीर कथामा बनेको चलचित्र कताकता पुरानो शैलीको लाग्छ ।

हरमन बाबेजा यसमा मुख्य चरित्रमा छन् । चलचित्रमा अभि नाम गरेका उनले कोसँग बिहे गर्ने, कुन शर्ट लगाउने जस्ता कुरा उनका बुवा सिद्धान्त अर्थात् नाना पाटेकरले निर्णय गर्छन् । घरमा बुवाकै चल्छ । सबै निर्णय उनी आफै लिन्छन् । उनीसँग घरमा नडराउने को होला र ?

अभिले भने प्रेम विवाह गर्न चाहन्छ तर घरको इच्छा टार्न नसकेर उसले एकजना युवतीसँग बिहेको सुपारी भोज खान्छन् ।

तर बिहे हुनु अघि उनको मुस्कान अर्थात् जेनेलिया डिसुजासँग प्रेम हुन्छ ।

आफै कल्पना गर्नुस्, यो कुरा थाहा भएपछि उनका बुवाको प्रतिक्रिया कस्ते थियो होला ?

यसैबीचमा अभिको परिवार घुम्न विदेश जाने निर्णय गर्छन् । अभिले आफ्ना बुवालाई मुस्कानलाई पनि सँगै लगेर जान अनुरोध गर्छन् । यो भ्रमणमा यति मुस्कान मन नपरेमा उससँग बिहे नगर्ने वाचा गर्छन् उनी ।

यसपछि के हुन्छ भन्ने कुरा चाहिँ चलचित्र अन्त हुँदा मात्रै थाहा हुन्छ ।

चलचित्रमा नाना पाटेकर भइसकेपछि एउटा गम्भीरता दर्शकले खोज्छन् । नानाले अहिलेसम्म चुनिएका चलचित्र मात्रै अभिनय गरेका छन् । तर यहाँ नानाको अभिनय उत्कृष्ट भएपनि स्क्रिप्ट भने त्यति माझिएको देखिँदैन । कतिपय अवस्थामा पर्दामा देखिएका घटनाक्रममा विरोधाभास देखिन्छ । दर्शकले पचाउन सक्दैनन् । जस्तो कि बुवाको व्यवहार अत्यधिक कडा हुन्छ तर छोरा भने हरेक दिनजसो रक्सी पिउँछन, साथीसँग घुम्छ, सडकमा रोमान्स गर्छ । जीवनबाट असन्तुष्ट भएको या पीडा भोगिरहेको कतै लाग्दैन । अनि बुवाले आफ्नो दृष्टिकोण वर्णन गर्दा उनी पनि ठीकै लाग्छन् ।
अर्को घटना, मुस्कानलाई विदेश लैजाने कुरा पनि उनी सहर्ष स्वीकारेको देखाइएको छ जबकि त्यसअघि उनलाई निकै कठोर प्रस्तुत गरिएको छ ।

चलचित्रमा मनोरञ्जनको अभाव देखिन्छ । एउटै प्रकृतिका दृश्यहरु दोहोरिँदा यसले रुचि क मगर्दछ ।

चलचित्रमा केही गीतहरु पनि छन् । तर गीतहरु त्यति रोचकता पैदा गर्दैनन् ।

हरमन बाभेजाको अभिनय औसत देखिन्छ । रोमान्टिक सीनमा ठीक भएपनि रक्सी पिउने दृश्यमा उनले अलि बढी नै कलाकारिता देखाएको ान हुन्छ । जेनेलिया डिसुजाको पनि ओभरएक्टिङ देखिन्छ ।

स्क्रिप्टमा नानाको चरित्र राम्रोसँग नलेखिएको कारण उनको उत्कृष्ट अभिनय हुँदा हुँदै पनि खल्लो लाग्छ ।

निर्माताः संजय कपूर, बोनी कपूर
निर्देशकः अनीस बज्मी
संगीतः शंकर–अहसान–लॉय
कलाकारः हरमन बावेजा, जेनेलिया डिसूजा, नाना पाटेकर, शरत सक्सेना

कमेन्ट गर्नुहोस्