कास्की : विसं २०७४ मा विमानस्थलको काम शुरु भएपछि उत्साहित पोखरेलीको सपना छिट्टै विपनामा परिणत गर्न पछिल्लो समय कोरोना व्यवधान बनेर आए पनि त्यसका बाबजुद आयोजनाको काम भने निरन्तर अघि बढेको छ ।
कोरोना सङ्क्रमणका कारण लागू गरिएको लामो बन्दाबन्दीमा समेत विमानस्थलको काम रोकिने अवस्था आएन तर काममा भने केही असर पर्यो । निर्धारित मितिभन्दा छ महिनाअगावै राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न नभए पनि तोकिएको मितिभित्रमै सम्पन्न गर्ने गरी अहिले धमाधम काम भइरहेको आयोजनाले जनाएको छ ।
तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्व. रवीन्द्र अधिकारीले विकास समितिको सभापति हुँदादेखि नै विमानस्थल निर्माणमा दिनुभएको विशेष चासो तथा योगदानलाई पोखरेली जनताले सम्झँदैै आएका छन् । विभिन्न सङ्घसंस्था तथा व्यक्तिको लामो समयको प्रयाससँगै पोखरेलीको सपनाले सार्थकता पाउन चार दशकभन्दा बढी समय लाग्यो ।
गएको वर्षको अङ्ग्रेजी नयाँ वर्षदेखि नै आयोजनाको काम प्रभावित हुँदा तोकिएको मितिभन्दा छ महिनाअघि नै आयोजना सम्पन्न हुने लक्ष्यमा बाधा उत्पन्न भएपछि अहिले निर्धारित समयभित्रै सक्ने गरी काम भइरहेको पोखरा विमानस्थल आयोजनाका परियोजना प्रबन्धक विनेश मुनकर्मीले बताए । करिब २२ अर्ब रुपैयाँको लगानीमा निर्माणाधीन यस विमानस्थलको हालसम्म दुई तिहाइ काम सकिएको छ । आयोजना सम्पन्न हुन एक वर्षभन्दा कम समय बाँकी रहँदा बाँकी ३३ प्रतिशत काम सम्पन्न गर्नुपर्ने चुनौती छ । तर आयोजना प्रमुख मुनकर्मी भने सिभिलतर्फका अधिकांश काम सकिएकाले फिनिसिङका लागि समय नलाग्ने बताउँछन् ।
पर्यटकीय नगरका रुपमा परिचित र पश्चिमा पर्यटकको पहिलो रोजाइको गन्तव्य पोखरालाई हवाई सम्पर्कका माध्यमबाट विश्वका अन्य शहरसँग सीधा सम्पर्क कायम गरी थप पर्यटन प्रवर्द्धनका लागि विमानस्थलको सपना देखिएको चार दशकअघि हो । तर यसबीचमा विभिन्न कारणले विमानस्थल बन्न सकेन । विसं २०३२ मैै पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको सपना देखेर जग्गा अधिग्रहण गर्ने काम सुरु गरिएको थियो ।
देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि भने विमानस्थल निर्माणले मूर्त रुप लिएर विसं २०७४ मा विमानस्थलको काम शुरु गरियो । लामो समयदेखि विमानस्थल निर्माणका लागि जग्गा अधिग्रहण गर्दै राखिएका अवस्थामा पोखरेली समुदायले निरन्तर यसको निर्माणलाई अघि बढाउन आवाज उठाउँदै आएका थिए । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्व रवीन्द्र अधिकारीले विकास समितिको सभापति हुँदादेखि नै विमानस्थल निर्माणमा दिनुभएको विशेष चासो तथा योगदानलाई पोखरेली जनताले सम्झँदैै आएका छन् । विभिन्न सङ्घसंस्था तथा व्यक्तिको लामो समयको प्रयाससँगै पोखरेलीको सपनाले सार्थकता पाउन चार दशकभन्दा बढी समय लाग्यो ।
सीमा नाकामा रोकिएका आयोजनाका निर्माण सामग्री आउन सुरु भएको तथा विशेषज्ञ कामदारसमेत चीनबाट आउने तयारीमा रहेकाले दुई सिफ्टमा काम गरेर भए पनि कामलाई तीव्रता दिइँदै छ । आयोजनाका विभिन्न भवनमा जडान गरिने उपकरणले आयोजनाको थप २० देखि २५ प्रतिशत भौतिक प्रगति ओगट्ने र जडानमा बढी समय खर्चिनुनपर्ने भएकालेसमेत आयोजना समयमै पूरा हुनेमा आयोजना विश्वस्त छ ।