चीनमा कोइला खानीमा चुहावट हुँदा १८ जनाको मृत्यु

बेइजिङ : चीनको दक्षिण पश्चिमी प्रान्तको एक कोइला खानीमा कार्बन मनोअक्साइड ग्यास चुहावट भएका कारण शनिबार कम्तीमा १८ श्रमिकको मृत्यु भएको छ ।

चिनियाँ समाचार संस्थाका अनुसार चोङछिङ शहरको डायोसुइडोङस्थित कोइला खानीमा शुक्रबार भएको उक्त घटनामा खानीमा काम गरिरहेका कम्तीमा २४ जना फसेका थिए ।

खानीमा फसेका अझै पाँच व्यक्तिलाई बाहिर ल्याउनका लागि उद्धार कार्य जारी रहेको राज्य सञ्चालित चिनियाँ टेलिभिजन सीसीटीभीले जानकारी गराएको छ ।

याे पनि पढ्नुस  के हो चीनमा भेटिएको नयाँ भाइरस ?

शनिबारसम्म एक व्यक्तिलाई जीवितै उद्धार गरिएको छ भने १८ जनाको मृत शरीर खानीबाहिर ल्याइएको छ । करिब दुई महिनादेखि बन्द अवस्थामा रहेको उक्त खानी केही दिन पहिले मात्र सञ्चालनमा आएको थियो ।

चिनिया समाचार संस्था सिन्ह्वाका अनुसार उक्त खानीमा सन् २०१३ मा तीन व्यक्तिको मृत्यु भएपनि खानीलाई सुरक्षित मानिँदै आएको थियो । घटनाबारे अनुसन्धानका लागि सरकारले अनुसन्धान टोली गठन गरिसकेको छ ।

याे पनि पढ्नुस  कोरोनाभाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या १५ सय नजिक, प्रान्त प्रमुखलाई पदबाट हटाइए

भूमिगत खानीभित्र पहिरो जाँदा र ग्यास चुहावटका कारण मृत्यु हुनुलाई खानीभित्र अपनाउनुपर्ने आवश्यक सुरक्षा सावधानी नअपनाउनु नै प्रमुख कारण मानिन्छ ।

चीनमा खानीभित्र यस प्रकारका दुःखद दुर्घटना हुनुलाई खानी सञ्चालन गर्ने उद्योग तथा कम्पनीको लापर्बाहीका रूपमा लिने गरिन्छ ।

चोङछिङको एक अर्को खानीमा सेप्टेम्बरमा आगलागी हुँदा कम्तीमा १६ व्यक्तिको मृत्यु भएको थियो ।

याे पनि पढ्नुस  इटलीमा एकैदिन १ सय ८९ जनाको मृत्यु, विश्वभर मृत्यु हुनेको संख्या पाँच हजार नजिक

कमेन्ट गर्नुहोस्