कडा सुरक्षाकाबीच धुम्बाराहीमा नेकपा स्थायी कमिटीको बैठक शुरू, ओली आएनन्

काठमाडौंः विवादकै बीच पूर्व निर्धारित नेकपा स्थायी कमिटीको बैठक शुरू भएको छ । आइतबार दिउँसो १ बजेका लागि तय बैठक ४० मिनेटपछि पार्टी कार्यालय धुम्बाराहीमा शुरू भएको हो ।

यसअघि शनिबार बसेको सचिवालय बैठकले आइतबारका लागि स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरेको थियाो । स्थायी कमिटी बोलाउने विषयमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले असहमति राखेका थिए । तर, कार्यकारी अध्यक्ष प्रचण्डलगायत बहुमत सचिवालय सदस्यले बैठक राख्नुपर्ने बताएपछि आजको लागि स्थायी कमिटी बैठक तय भएको थियो ।

याे पनि पढ्नुस  अबको एक मात्रै विकल्प प्रधानमन्त्री ओलीको राजीनामाः नेतृ चौधरी

आजको बैठकमा ओली आएका छैनन् । कोरोनाको जोखिम रहेको र राजनीतिक दस्ताबेज पनि तयार नभएको भन्दै ओली नआएको बताइएको छ । बैठकमा ओली बाहेक स्थायी कमिटिका ४३ सदस्य सहभागी छन् ।

बैठकका लागि अरु सदस्यहरुले पार्टी कार्यालय धुम्बाराहीमा पर्खिरहेका बेला प्रधानमन्त्री ओलीले शीतल निवास गएर राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका थिए ।

बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डले सचिवालय बैठकमा पेस गरेका प्रस्ताव पेस गरिने कार्यसूची छ ।

गत कात्तिक २८ गते बसेको बैठकमा प्रचण्डले सचिवालयका अन्य ४ जना सदस्य माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ ‘प्रकाश’को सहमतिमा छुट्टै राजनीतिक प्रस्ताव पेस गरेका थिए । त्यसपछि मंसिर १३ गते बसेको बैठकमा ओलीले प्रचण्डको जवाफी प्रस्ताव पेस गरेका थिए ।

याे पनि पढ्नुस  ओली-प्रचण्डबीचको छलफल सकियो, के भयो कुराकानी?

प्रचण्डसहितका बहुमत सचिवालय सदस्यहरू दुबै प्रस्तावमाथि छलफल गर्नुपर्ने अडानमा छन् । तर, ओली पक्षधरले भने दुबै प्रस्ताव फिर्ता गरेर साझा प्रस्ताव ल्याउन पहल गरिरहेका थिए । त्यो पहल सफल हुन सकेन ।

अन्ततः प्रचण्ड–माधव नेपाल समूहको माग बमोजिम सबै प्रस्तावहरू स्थायी कमिटी बैठकमा छलफलका लागि पेस हुने भएका छन् ।

याे पनि पढ्नुस  ओलीलाई फेरि झट्काः अध्यादेशपछि देउवा संवैधानिक परिषद्को बैठकमा नजाने

बैठकलाई मध्यनजर गरेर पार्टी कार्यालय धुम्बाराही क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीसहितको सुरक्षा टोलीले नेकपा पार्टी कार्यालय रहेको धुम्बाराही क्षेत्रमा गस्ती गरिरहेको छ ।

प्रहरीको टेकु परिसरबाट एसएसपीको नेतृत्वको प्रहरी टोली सुरक्षाका लागि खटिएको छ । यस्तै सुरक्षाकर्मीले तालिम प्राप्त कुकुर पनि त्यहाँ तैनाथ गरिएको छ । बम डिटेक्टरसहितको सुरक्षा टोलीले गस्ती गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्