रुकुम पश्चिम : जिल्लाको आठबीसकोट नगरपालिकाले हप्ताका सातै दिन विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ ।
नगर शिक्षा समितिको बसेको बैठकले यहाँका सबै विद्यालय हप्ताका सातै दिन सञ्चालन गर्ने निर्णय गरेको हो । यहाँका विद्यालयमा शुक्रबार पूरै दिन पढाइ र शनिबार अतिरिक्त क्रियाकलाप शुरु गरिने नगरप्रमुख गोरखबहादुर केसीले जानकारी दिए ।
नगरभित्रका ६३ वटै विद्यालयमा अब बिदाको दिन पनि पठनपाठन र अतिरिक्त क्रियाकलाप हुनेछ । बालविकासदेखि कक्षा ९ सम्मको पढाइ २०७८ को वैशाखभरि सञ्चालन हुने र २०७८ को जेठबाट अर्को शैक्षिकसत्र सञ्चालन गर्ने गरी कार्ययोजना नगर कार्यपालिकाको बैठकबाट पारित भएको नगर प्रमुख केसीले जानकारी दिए ।
गत ११ चैतदेखि बन्द भएका विद्यालय नगरपालिकाले कात्तिक १६ गतेदेखि सुरु गरेको थियो । प्रधानाध्यापकले तयार पारेको प्रस्ताव नगर शिक्षा समिति हुँदै कार्यपालिकामा पेस भएको थियो । कार्यपालिकाले उक्त प्रस्ताव पारित गरेको छ । विशेष परिस्थितिका कारण बन्द भएका विद्यालय अब निरन्तर सञ्चालन हुने नगर प्रमुख केसीको भनाइ छ ।
यो निर्णयबाट विद्यार्थी, शिक्षक, कर्मचारी र अभिभावक उत्साहित भएका छन् । जिल्लाका ६ स्थानीय तहमध्ये कार्ययोजना बनाएर पठनपाठन गर्ने आठबीसकोट नगरपालिका दोस्रो हो ।
यसअघि चौरजहारी नगरपालिकाले पनि कार्ययोजना बनाएर पठनपाठन सुरु गरेको थियो । त्यस्तै जाजरकोटको नलगाड र भेरी नगरपालिकाले समेत विद्यालय सञ्चालन ल्याएका छन् ।